२०८३ वैशाख ४ , शुक्रबार

रविमाथिका मुद्दा कार्की सरकारले टुंग्याउने रास्वपाको विश्वास




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने बैंक जमानतमा रिहा भएको विषयलाई लिएर सरकारप्रति विश्वास व्यक्त गरेको छ।

शुक्रबार रुपन्देहीबाट लामिछाने रिहा भएलगत्तै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै अघिल्लो सरकारले झुटा मुद्दा लगाएको दाबी गरेका छन्।

विज्ञप्तिमा अर्यालले तत्कालीन सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खलालाई अहिलेको नागरिक सरकारले पूर्णविराम लगाउने विश्वास पार्टीले लिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत रहे पनि यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारको राजनीतिक प्रतिशोधको परिणाम भएको स्पष्ट भइसकेको छ।

अहिलेको सरकारले आवश्यक कदम चाली यस प्रतिशोधलाई अन्त्य गर्ने विश्वास पार्टीले लिएको छ।’

अदालतबाट लामिछाने रिहा हुनुमा सरकारको सदासयता रहेको चर्चा चलिरहेकै बेला रास्वपाले अब मुद्दाकै प्रक्रियाबाट सरकारले आवश्यक कदम चालेर सभापतिलाई सफाइ दिलाउने  विश्वास व्यक्त गरेका छन् ।

बिहीबार उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले तत्कालीन गोरखा मिडिया नेटवर्कका सञ्चालक लामिछानेलाई बैंक जमानतमा रिहा गर्न आदेश दिएको हाे।

अदालतले लामिछानेसँग उनको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बराबरको रकम जमानत लिएर रिहा गर्न भनेको हो।

यसअघि अन्य इजलासमा पेशी चढ्दा सुनुवाइ हटाइँदै आएको मुद्दा बिहीबार आचार्य र पौडेलको इजलासमा परेपछि लामिछानेका समर्थकहरू उत्साहित भएका थिए।

रास्वपाले विधिको शासनप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै अदालतको आदेशप्रति सम्मान व्यक्त गरेको छ। साथै, अर्यालले कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी पनि दिएका छन्।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार