२०८३ वैशाख १० , बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीद्वारा लेकबेसीमा अभिमुखीकरण



सुर्खेतको लेकबेसी नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय तेस्रो वर्षका विद्यार्थीहरूले स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी ४५ दिने प्रयोगात्मक कार्यक्रमअन्तर्गत एकदिने अभिमुखीकरण सम्पन्न गरेका छन्।

कार्यक्रम संयोजक दिलीप कुमार रावतको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा लेकबेसी नगरप्रमुख उमेश कुमार पौडेल, उपप्रमुख विमला खड्लुक, प्रशासन अधिकृत महेन्द्र कुमार शर्मा तथा प्रतिष्ठानका उपप्राध्यापक भरत काफ्ले लगायतको उपस्थिति थियो।

कार्यक्रममा विकास महतोले ४५ दिने तालिमको रोडम्याप, उद्देश्य, कार्यविधि तथा अपेक्षित नतिजाबारे विस्तृत प्रस्तुति दिए। उनले स्वास्थ्य प्रणालीका सेवा प्रवाह, जनशक्ति, स्वास्थ्य सूचना प्रणाली, आवश्यक औषधि तथा सामग्री, वित्तीय व्यवस्थापन र सुशासनका आधारहरूबारे जानकारी गराए।

स्थानीय स्वास्थ्य सेवा प्रणाली व्यवस्थापनसम्बन्धी ४५ दिने कार्यक्रम अवलोकन तथा अध्ययनका माध्यमबाट अघि बढ्ने विद्यार्थी रोशन ताम्राकारले बताए।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार