मौसमी प्रणाली बाहिरिएसँगै देशभर चिसो बढ्न थालेको छ। मौसम सफा रहे पनि तापक्रम घट्दो क्रममा रहेकोले बिहान र साँझको समयमा चिसो महसुस हुन थालेको छ।

मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशभर न्यूनतम तापक्रम क्रमिक रूपमा घटिरहेको छ। शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन शुक्रबारको १५.६ डिग्री सेल्सियसभन्दा कम हो।
पश्चिमी उच्च हिमाली क्षेत्रहरूमा चिसो अझ बढी बढेको छ। शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम -१.३३ डिग्री सेल्सियस पुगेको छ भने जुम्लाको तापक्रम ३.१ डिग्री सेल्सियसमा झरेको छ। उपल्लो हुम्लामा हिमपात भएपछि तापक्रममा एकाएक गिरावट आएको हो। हिमपातका कारण हुम्लाको न्यालु सडकखण्ड समेत अवरुद्ध भएको छ।
केही दिनअघि देशभर उल्लेखनीय वर्षा भएको थियो। वर्षाका कारण तापक्रम उच्च रहे पनि अहिले मौसमी प्रणाली बाहिरिएसँगै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका अधिकांश भू-भागमा मौसम सफा रहेको छ। यद्यपि पूर्वी नेपालका एक–दुई स्थानमा शनिबार हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्