कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा १४१ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य तय गरेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार यी पुल निर्माणपछि प्रदेशका विकट र दुर्गम क्षेत्रका जनताको दैनिक आवागमन र सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।

मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार रुकुम पश्चिममा १०, सल्यानमा ७, डोल्पामा १९, जुम्लामा १२, मुगुमा २०, हुम्लामा १८, कालिकोटमा १३, जाजरकोटमा ७, दैलेखमा २१ र सुर्खेतमा १४ वटा झोलुङ्गे पुल निर्माण गरिने योजना छ।
उनका अनुसार, कर्णाली सरकारले दुर्गम क्षेत्रका जनतालाई आधा घण्टाको पैदल दूरीभित्रै सेवाको पहुँच पुर्याउने लक्ष्य लिएको छ। विकट क्षेत्रका जनताको सेवा प्राप्ति सहज बनाउन प्रदेश सरकारले संघ र स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ।
तुइन विस्थापन अभियानअन्तर्गत थप ७५ वटा झोलुङ्गे पुल निर्माण र पुराना पुलहरूको मर्मत–सम्भारका लागि ३७ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
भौगोलिक विकटताका कारण कर्णालीमा झोलुङ्गे पुलहरू ग्रामीण बस्तीहरूको जीवनरेखा मानिन्छन्। यी पुलहरूको निर्माणले स्वास्थ्य, शिक्षा र बजार पहुँचमा सुधार ल्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।










प्रतिक्रिया दिनुहोस्