जाजरकोटको ऐतिहासिक दरबारमा सोमबार घटस्थापनाको अवसर पारेर परम्परागत ढंगले विधिपूर्वक जमरा राखिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतअनुसार बिहान ९ बजेर १३ मिनेटमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित स्थानीय सरोकारवालाको उपस्थितिमा दरबारमा जमरा राखिएको हो।
भूकम्पका कारण जीर्ण बनेको दरबारमै पञ्चेबाजासहित जमरा राखिएको जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
उनका अनुसार, तत्कालीन जाजरकोटी राजादेखि निरन्तर चलिआएको परम्परा अनुसार दशैँमा दरबारमा जमरा राख्ने र विजया दशमीको दिन त्यहीँ पुगेर टीका-जमरा ग्रहण गर्ने चलन रहिआएको हो।
जाजरकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष जनक केसीले भने, जिल्लाका विशिष्ट व्यक्तिहरूलाई टीका-जमरा वितरण गर्ने उद्देश्यले दरबारमा हरेक वर्ष यसरी जमरा राख्ने गरिन्छ ।
घरघरमा परिवारको संकल्पसहित जमरा राख्ने परम्परा भए पनि जाजरकोट दरबारमा भने जिल्लावासीकै सामूहिक संकल्पका आधारमा जमरा राख्ने विशेष चलन रहेको उनले बताए।
सन् १९९० को भूकम्पले दरबार भत्काएपछि पुनर्निर्माण गरिएको थियो भने २०५० सालको भूकम्पले पुनः क्षति पुर्याएको थियो।
पुरानै शैलीमा पुनर्निर्माण गरिएको दरबारलाई २०८० कार्तिक १७ गतेको विनाशकारी भूकम्पले फेरि पूर्ण रूपमा क्षति पु¥याएको छ।
विसं १८५२ मा तत्कालीन राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको यो दरबारलाई नेपाल सरकारले केही वर्षअघि देशका सय प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको थियो।











प्रतिक्रिया दिनुहोस्