२०८३ मंसिर ११ , शुक्रबार

ग्यासको परनिर्भरता घटाउन विद्युतीय चुलो प्रवर्द्धन गर्ने सरकारको योजना



सरकारले खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउन र इन्धनको बढ्दो मागलाई सन्तुलनमा राख्न विद्युतीय (इन्डक्सन) चुलो प्रवर्द्धन गर्ने विशेष योजना अघि सारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७४औँ बैठकले विद्युतीय चुलो प्रयोग गर्ने उपभोक्तालाई विद्युत् महसुलमा सहुलियत दिने कार्ययोजना तयार पार्न निर्देशन दिएको हो।

बैठकले घरायसी प्रयोजनका लागि विद्युतीय चुलो खरिदमा प्रोत्साहन गर्ने मात्र नभई पुराना विद्युतीय प्रणालीलाई स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ।

धेरै इन्धन खपत हुने क्षेत्रहरू जस्तै होटल, रेस्टुरेन्ट, छात्रावास तथा सुरक्षा निकायका ब्यारेकहरूमा विद्युतीय ऊर्जा र बायोग्यास जस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गरिने जनाइएको छ।

यसैगरी, ग्यासको अस्वाभाविक भण्डारण (होर्डिङ) नियन्त्रण गर्न र थोक तथा खुद्रा विक्रेतामाथि नियमित अनुगमन गर्न पनि सरकारले जोड दिएको छ।

ग्यासको अत्यधिक भण्डारण रोक्ने, बजारमा आपूर्ति सन्तुलित राख्ने, विक्रेताहरूको नियमित निरीक्षण गर्ने र उपभोक्तालाई सिलिन्डर साट्ने मितिबारे पारदर्शी जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ।

माग र आपूर्तिको सन्तुलन कायम गर्न नेपाल आयल निगमलाई थप सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ।

साथै घरायसी प्रयोजनका लागि विद्युतीय चुलो खरिदमा प्रोत्साहन, विद्युत् महसुलमा सहुलियत तथा घरायसी विद्युत् प्रणालीको स्तरोन्नति गर्ने कार्ययोजना तयार पारिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।