२०८३ मंसिर ११ , शुक्रबार

‘लट्ठक’का सबै एपिसोड युटुबमा सार्वजनिक



पाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली समाज र ग्रामीण जीवनसँग मेल खाने गरी प्रस्तुत गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जनसँगै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना दिन खोजेको छ।

सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको ‘लट्ठक’ उनका लागि निर्देशन यात्राको औपचारिक डेब्यु हो। विद्यालय जीवनदेखि नै निर्देशन क्षेत्रमा रुचि राख्दै आएका ज्ञवालीले यसै सिरिजमार्फत आफूलाई निर्देशकका रूपमा स्थापित गर्ने प्रयास गरेका छन्। चार वर्षअघि पहिलोपटक वेब सिरिज निर्देशन गरेका उनले हालसम्म करिब सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने अहिले चलचित्र ‘मालती मंगले’ निर्माणमा व्यस्त छन्। दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएमा ‘लट्ठक’ को दोस्रो सिजन ल्याइने निर्देशक ज्ञवालीले बताएका छन्।

नेपाली ग्रामीण परिवेशका पात्रहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको यस सिरिजमा अनुभवी र नयाँ पुस्ताका कलाकारको अभिनय देख्न सकिन्छ। सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकित कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाललगायत कलाकारको सशक्त अभिनय रहेको छ। करिब २५ वर्षअघि ‘श्रीराम बाजे’का रूपमा परिचित अभिनेता सुभाष गजुरेल यस सिरिजमा ‘स्वाहा बाजे’को भूमिकामा देखिएका छन्।

‘लट्ठक’ म्युजिक नेपाल र ओरिजिनल मिडियाको प्रस्तुतिमा अफ सिंक फिल्मसको सहकार्यमा निर्माण गरिएको हो। छायांकन नारायण जीसीले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अनिलकुमार महर्जनले गरेका हुन्। कथा काजी लिम्बूको हो भने शीर्ष गीत दीक्षित अधिकारीले तयार पारेका छन्। सिरिज म्युजिक नेपालको युट्युब च्यानलमार्फत प्रसारण भइरहेको छ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।