खस भाषाको शब्दकोश ‘खसिया आखर’ बुधबार लोकार्पण गरिएको छ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशद्वारा प्रकाशित र लेखक रामानन्द आचार्यद्वारा लिखित यो शब्दकोशको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा कमलादी, काठमाडौँमा सम्पन्न भएको हो।

कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीले खस भाषा नेपाली भाषाको मातृभाषा भएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि यस प्रकारका पुस्तकहरूले मार्गदर्शन गर्ने बताएका छन्।
उनले सरकार खस भाषाको संरक्षण, पाठ्यक्रम निर्माण र स्थानीय तहमा पठनपाठनको कार्यान्वयनका लागि अभियानका रूपमा अघि बढ्ने स्पष्ट पारे।
मन्त्री भण्डारीले लेखकप्रति कृतज्ञता व्यक्त गर्दै शब्दकोश प्रकाशन जिम्मेवारी मन्त्रालयलाई दिएकोमा धन्यवाद ज्ञापन गरे। साथै, योगी नरहरिनाथका कृतिहरूको संकलन, कर्णाली भूगोल र संस्कृतिसँग सम्बन्धित पुस्तकहरूको अभिलेखीकरण र संरक्षण कार्य पनि अघि बढाइएको जानकारी दिए।
भाषाशास्त्री डा. माधव प्रसाद शास्त्रीले शब्दकोश प्रकाशन कर्णालीको गौरव बढाउने कार्य भएको भन्दै भने, “कर्णालीको एक छाती चौडा भएको छ, भूगोलको एक चुचुरो थपिएको छ।”
त्यस्तै, डा. मधुसुदन गिरीले कर्णालीको भाषा र संस्कृतिको जगेर्नाका लागि सामूहिक अभियान अपरिहार्य भएको बताउँदै, यो शब्दकोशले खस भाषाको अध्ययन र बुझाइमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।











