२०८३ मंसिर ११ , शुक्रबार

पूर्व गाईगोठ, अहिले पर्यटकीय स्थल- फेरिँदैछ जुम्लाको धिमीचौरको रूप



जुम्लाको चन्दननाथ नगरपालिका–४ मा अवस्थित धिमीचौर पछिल्ला दिनहरुमा आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । प्राकृतिक सुन्दरता र शान्त वातावरणले भरिएको यो स्थानले पर्यटकलाई आकर्षित गर्दै लगेको स्थानीय बताउँछन् ।

धिमीचौरको पाटनमा फुल्ने रङ्गीचङ्गी फूलको सुगन्ध लिन, हरियालीबीच विश्राम गर्न र रमणीय दृश्यको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

समाजसेवी तथा स्थानीय नेता सुरेन्द्रबहादुर महतका अनुसार धिमीचौरले आगन्तुकलाई न्यानोपन र आनन्द दिने भएकाले आन्तरिक पर्यटनको चाप उल्लेखनीय रूपमा बढिरहेको छ । “स्थानीय सरकार यस क्षेत्रको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन तथा गतिविधि सञ्चालनमा सक्रिय हुँदै गएको छ,“ उनले भने ।

उनका अनुसार खलङ्गाबाट करिब एक घण्टा पैदल यात्रा गरेपछि धिमीचौर पुगिन्छ । यातायात सुविधा पनि सहज बन्दै गएकाले पर्यटकको संख्या बढ्न थालेको हो । “सडक विस्तार भइसकेको छ र आगामी दिनमा अझ स्तरीकरण गरिने योजना बनाइएको छ,“ महतले जानकारी दिए ।

घना जङ्गलको काखमा फैलिएको फराकिलो फाँट धिमीचौरको मुख्य विशेषता हो । साउन र भदौ महिनामा, विशेषगरी शुक्रबार र शनिबार तथा बिदाको दिन यहाँ आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन्छ ।

स्थानीय हिम्मत बुढ्थापाका अनुसार अहिले धिमीचौर घुम्न आउनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । तर, यससँगै फोहर व्यवस्थापन चुनौती बन्न थालेको स्थानीय लक्ष्मी खत्री बताउँछिन् ।

“पाटन क्षेत्र वरपर बिस्कुट र चाउचाउका खोल, रेडबुल र पानीका बोतलजस्ता फोहोर थुप्रिन थालेको छ,“ उनले भनिन्, “स्थानीय तहले फोहर संकलनका लागि खाडल वा अन्य संयन्त्रको व्यवस्था गर्न आवश्यक छ ।“

एक समय बर्खायाममा गाईगोठको रूपमा प्रयोग हुने धिमीचौर अहिले आन्तरिक पर्यटनको एक महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।