त्रिभुवन विश्वविद्यालय (त्रिवि), पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले डिजिटल कन्टेन्ट क्रियसनमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गरेको छ।

आधुनिक मिडिया, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई समेटेर सुरु गरिएको यो कार्यक्रमले नयाँ पुस्ताका कन्टेन्ट क्रियटर, सञ्चारकर्मी तथा डिजिटल उद्यमीलाई दक्ष बनाउने लक्ष्य राखेको विभागले जनाएको छ।
‘मास्टर द आर्ट अफ डिजिटल स्टोरीटेलिङ’ मूल ध्येय रहेको यस कार्यक्रममा पत्रकारिता विषय नै अध्ययन गरेको हुनुपर्ने बाध्यता छैन। कुनै पनि विषय वा सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेका र कम्तीमा एउटा अङ्ग्रेजी विषय अध्ययन गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्।
विभागका अनुसार प्रवेश परीक्षाका लागि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको आधिकारिक पोर्टल entrance.tufohss.edu.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। आवेदन फाराम मङ्सिर १० गतेदेखि खुल्नेछ। २०८३ पुस १५ गते राति १२ बजेसम्म २ हजार ५०० रुपैयाँ शुल्क तिरेर आवेदन दिन सकिनेछ।
माघ पहिलो साता प्रवेश परीक्षा सञ्चालन गर्ने, दोस्रो साता नतिजा प्रकाशन गर्ने र तेस्रो सातादेखि कक्षा सञ्चालन गर्ने विभागको तयारी छ।
सेमेस्टर प्रणालीमा आधारित यो कार्यक्रम ४४ क्रेडिट आवरको हुनेछ। कार्यक्रममा २५ जनाका लागि सिट प्रस्ताव गरिएको छ भने कक्षा सञ्चालन हुन न्यूनतम १० जना विद्यार्थी अनिवार्य हुनुपर्नेछ। पाठ्यक्रममा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासलाई समान ५०/५० प्रतिशत भार दिइएको छ।
कक्षा साँझको समयमा प्रत्यक्ष रूपमा सञ्चालन हुनेछन्। अन्तिम परीक्षामा सहभागी हुन कम्तीमा ८० प्रतिशत उपस्थिति अनिवार्य गरिएको छ।
यो कार्यक्रम पूरा गरेपछि मल्टिमिडिया पत्रकारिता, डिजिटल जनसम्पर्क (पीआर), सामाजिक सञ्जाल व्यवस्थापन, तथ्य जाँच, भ्लगिङ, पोडकास्टिङ तथा एआईमा आधारित कन्टेन्ट रणनीति निर्माणलगायत १३ भन्दा बढी व्यावसायिक क्षेत्रमा अवसर प्राप्त गर्न सकिने विभागको दाबी छ।
कस्तो छ पाठ्यक्रम?
दुई सेमेस्टरमा विभाजित पाठ्यक्रममा आधुनिक प्रविधि, एआई, तथ्य जाँच र डेटा स्टोरीटेलिङलाई प्राथमिकता दिइएको छ।
पहिलो सेमेस्टरमा भिजुअल कम्युनिकेसन तथा एआईका सिद्धान्त, व्यावहारिक फोटोग्राफी, सामाजिक सञ्जाल तथा नेटवर्क कम्युनिकेसन, मल्टिमिडिया कन्टेन्ट क्रियसन, स्टोरीटेलिङ, मिडिया आचारसंहिता, डिपफेक र भ्रामक सूचना नियन्त्रणसम्बन्धी विषय समेटिएका छन्।
त्यस्तै, दोस्रो सेमेस्टरमा ग्राफिक डिजाइन, इन्फोग्राफिक तथा डेटा आधारित स्टोरी, भिजुअल न्यारेटिभ, डकुमेन्ट्री निर्माण, डिजिटल मिडिया अनुसन्धान, कन्टेन्ट उत्पादन रणनीति, मिडिया व्यवस्थापन र शोधपत्र लेखन समावेश गरिएको छ।











