दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा आयोजना हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा सञ्चालन गरिने जानकारी दिएको हो। प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि सुरु हुनेछ।
राखेपका अनुसार प्रतियोगिताका खेल सुर्खेत, बाँकेको नेपालगञ्ज, बर्दिया, दैलेख, कालीकोट, सल्यान र रुकुम पश्चिममा सञ्चालन हुनेछन्।
कुल ३२ खेल समावेश गरिएको प्रतियोगितामध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। त्यस्तै, नेपालगञ्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल सञ्चालन गरिनेछ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले सहभागिता जनाउनेछन्।
मुख्य प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुने भए पनि १० खेल भने उद्घाटन समारोहअघि नै सञ्चालन गरिने राखेपले जनाएको छ।











