दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च दैलेखस्थित पञ्चकोशी क्षेत्रको श्रीस्थानमा रहेको प्राकृतिक ज्वालाबाट प्रज्वलन गरेर ल्याइने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले श्रीस्थानको प्राकृतिक ज्वालाबाट टर्च सल्काएर प्रतियोगिताको प्रचारात्मक यात्रा सुरु गर्ने तयारी गरेको हो। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पनि राष्ट्रिय खेलकुद परिषद्ले आफूलाई श्रीस्थानको ज्वालाबाट टर्च प्रज्वलन गरेर ल्याउने जानकारी गराएको बताएका छन्।
युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलले समेत प्राकृतिक ज्वालाबाट टर्च प्रज्वलन गरेर ल्याउने विषयलाई अघि बढाएका छन्। यसअघि राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनीबाट ओलम्पिक टर्च प्रज्वलन गरेर ल्याउने गरिएको थियो।
टर्चलाई ओलम्पियन खेलाडीहरूले बोकेर कर्णालीका विभिन्न जिल्लामा पुर्याउने तयारी छ। यसले राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु हुनेछन्। मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन गर्ने तयारी छ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहित ११ टोली सहभागी हुनेछन्।
प्रतियोगितामा ३२ खेल समावेश छन्। राष्ट्रिय खेलकुदलाई खेल प्रतियोगितामा मात्र सीमित नराखी कर्णालीको पर्यटन, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले श्रीस्थानबाट सुरु हुने टर्च यात्रालाई महत्त्वका साथ हेरिएको छ।











