२०८३ मंसिर ११ , शुक्रबार

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने



कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा सञ्चालन हुने भएका छन्।

भौगोलिक कठिनाइ र आवश्यक खेल पूर्वाधारको अभावका कारण अधिकांश प्रतियोगिता सुर्खेतमा केन्द्रित गरिएको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। प्रतियोगिताको समापन मंसिर २७ गते गर्ने कार्यतालिका तय गरिएको छ।

औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सुरु हुनेछन्। त्यसपछि क्रमशः अन्य खेल सञ्चालन गरिने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङलगायतका खेल आयोजना हुनेछन्। त्यसैगरी कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु, बक्सिङ, ब्याडमिन्टन, टेबलटेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबलका प्रतियोगिता पनि सुर्खेतमै सञ्चालन गरिनेछ।

यसका अतिरिक्त कबड्डी, आर्चरी, भारोत्तोलन, ई-स्पोर्ट्स र सेपाकताक्राका खेलसमेत सुर्खेतमा हुनेछन्।

कर्णालीका अन्य जिल्लामा पनि पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा खेलहरू बाँडफाँट गरिएको छ। दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो तथा कुस्ती र पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिनेछ।

कर्णालीमा आवश्यक पूर्वाधार अभावका कारण केही खेल छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गर्नुपर्ने भएको छ। पौडी र सुटिङका प्रतियोगिता बाँकेको नेपालगन्जमा तथा टेनिस र खो–खोका खेल बर्दियामा आयोजना गर्ने तयारी गरिएको छ।

यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा र चार खेल लुम्बिनी प्रदेशका बाँके तथा बर्दियामा सञ्चालन गर्ने गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २७ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।