२०८३ मंसिर १२ , शनिबार

कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १८१ रनको लक्ष्य



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। हुसेन तलतले ३० बलमा २ छक्का र १ चौकासहित ४० रन जोडे।

पवन सर्राफले २३ बलमा २ छक्कासहित अविजित ३० रन बनाए भने गुल्सन झाले १२ बलमा २ छक्कासहित २० रनको योगदान दिए। बंगलादेशी खेलाडी जिशान आलमले कर्णालीबाट एनपीएलमा डेब्यु गर्दै ७ रन बनाए।

कर्णाली एक समय ७८ रनमा ४ विकेट गुमाएर दबाबमा थियो। तर पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। तलत १७औँ ओभरको अन्तिम बलमा हिट विकेट हुँदै आउट भए।

त्यसपछि पवन सर्राफ र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्दै कर्णालीलाई १८० रनसम्म पुर्‍याए।

बलिङतर्फ काठमान्डु गोर्खाजका कप्तान करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट लिए।

अब काठमान्डु गोर्खाजले जितका लागि २० ओभरमा १८१ रन बनाउनुपर्नेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।