दैलेखका विभिन्न स्थानमा उत्पादन हुने कृषि उपजको बजारीकरणलाई सहज बनाउने उद्देश्यले कृषक समूह तथा कृषि सहकारी संस्था र सुर्खेतका थोक क्रेता तथा व्यापारीबीच कृषि उपज खरिद–बिक्री सम्झौता नवीकरण गरिएको छ ।

सेवक नेपालको सहजीकरणमा दैलेखका विभिन्न कृषक समूह तथा कृषि सहकारी संस्था र सुर्खेतका थोक क्रेता तथा व्यापारीबीच सम्झौता गरिएको हो । सम्झौताले किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्नुका साथै उत्पादक र क्रेताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने अपेक्षा गरिएको छ ।
उज्यालो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष झमलाल पौडेलले कृषि उपजको बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य गर्न सम्झौताले सहयोग पुग्ने बताए । स्थानीयस्तरमा उत्पादन हुने फलफूल तथा तरकारीको खरिद–बिक्री प्रक्रिया सहज हुनुका साथै किसानले उत्पादन गरेको वस्तुको बजार सुनिश्चित गर्न मद्दत पुग्ने उनले बताए ।
सम्झौताअनुसार सुर्खेतको पुजा सब्जी मन्डीले दुल्लु नगरपालिका–११ तोरायास्थित रानीवन तोराया अर्गानिक कृषि सहकारी संस्थाले उत्पादन गरेको सुन्तला खरिद गर्नेछ । सहकारीको भवन आसपासको क्षेत्रबाट सुन्तला संकलन गरिने सम्झौतामा उल्लेख छ।
त्यस्तै, दुल्लु नगरपालिका–४ शान्तिबजारस्थित नवजागरण फलफूल, ताजा तरकारी तथा पशुपालन कृषक समूहले पनि पुजा सब्जी मन्डीसँग सुन्तला खरिद-बिक्री सम्झौता गरेको छ । टिमुर गाउँ, घट्टेपाटा र शान्तिबजार क्षेत्रबाट सुन्तला संकलन गरिने छ ।
भैरवी गाउँपालिका–३ स्थित चगत्रा कृषि तथा पशुपालन सहकारी संस्था र वीरेन्द्रनगरस्थित शाही तरकारी, फलफूल तथा माछा–मासु सप्लायर्सबीच पनि कृषि उपज खरिद–बिक्री सम्झौता भएको छ । सम्झौतामा भिण्डी, चिचिण्डा, काँक्रा, सिमी, हरियो खुर्सानी, बन्दा, काउली, मकै बोडी, टमाटर, आलु, प्याज, लसुन र अदुवालगायतका कृषि उपज खरिद गर्ने उल्लेख छ । यी उत्पादन चिन्तामय र पोखरा टोलबाट संकलन गरिनेछ ।
भैरवी गाउँपालिका–७ कुसापानीस्थित उज्यालो साना किसान कृषि सहकारी संस्थाले पनि शाही तरकारी, फलफूल तथा माछा–मासु सप्लायर्ससँग कृषि उपज खरिद-बिक्री सम्झौता गरेको छ । सम्झौताअनुसार सहकारीले उत्पादन गर्ने आलु, टमाटर, पिँडालु, किवी र सुन्तला कर्माकोट, भक्तडाँडा, मान्म र भाटीचौर क्षेत्रबाट संकलन गरिने सहकारीका अध्यक्षले बताए ।
यसैगरी, नारायण नगरपालिका–२ जाहारकोटस्थित कृति देवल बहुउद्देश्यीय कृषि सहकारी संस्थाले रोशन तरकारी तथा फलफूल पसलसँग सम्झौता गरेको छ । सम्झौतामा बन्दा, काउली, टमाटर, मुला, भिण्डी, काँक्रा, करेला, लौका, तनेबोडी, सिमी, चिचिण्डा, प्याज, लसुन, खुर्सानी र भान्टा लगायतका कृषि उपज खरिद गर्ने उल्लेख छ । सहकारीको भवन आसपास र माझरुम्झा टोलबाट कृषि उपज संकलन गरिने छ ।
वीरेन्द्रनगर नगरपालिका–१६ पाखापानीस्थित जुनेली कृषक समूह र देवकोटा सब्जी मन्डीबीच पनि कृषि उपज खरिद–बिक्री सम्झौता भएको छ । सम्झौतामा आलु, काउली, बन्दा, मुला र सिमीलाई मुख्य उत्पादनका रूपमा समेटिएको छ । यी कृषि उपज पाखापानी क्षेत्रबाट संकलन गरिनेछ ।
कृषक तथा सहकारी संस्थाले उत्पादन गरेका कृषि उपज र व्यापारीबीच प्रत्यक्ष खरिद–बिक्री सम्झौता हुँदा किसानले बजार खोज्नुपर्ने समस्या कम हुने चगत्रा कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष मोतिराम अधिकारीले बताए । किसानका उत्पादन बारीबाटै खरिद हुने व्यवस्था हुँदा उत्पादन बढाउनसमेत किसानलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ ।
सम्झौतासँगै सहकारीका प्रतिनिधि, थोक क्रेता तथा व्यापारी र कृषि उपज संकलनसँग सम्बन्धित पक्षबीच उत्पादन, संकलन, मूल्य, गुणस्तर र बजारीकरणका विषयमा समेत समन्वय कायम गर्ने विषयमा छलफल गरिएको थियो ।
स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, आलु, टमाटर, काउली, बन्दा, सिमी, काँक्रा, खुर्सानीलगायत कृषि उपजलाई नियमित बजारसँग जोड्न यस्तो सम्झौता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पहलमा तथा सेवक नेपालको कार्यान्वयन साझेदारीमा सञ्चालन भइरहेको हो। कार्यक्रम दैलेखका नारायण र दुल्लु नगरपालिका तथा भैरवी र महाबु गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेको छ।
कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारसँग प्रत्यक्ष जोड्ने तथा उत्पादक र खरिदकर्ताबीच नियमित कारोबारको वातावरण निर्माण गर्ने उद्देश्यले क्रेता-बिक्रेता सम्झौता गरिएको हो।
२०८३ भदौ १३ गते भएको क्रेता-बिक्रेता सम्झौता एक वर्षसम्म कायम रहने र आवश्यकता अनुसार सम्झौताका प्रावधानमा परिवर्तन गर्न सकिने जनाइएको छ। सम्झौतापत्रमा सुर्खेत कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्र जंग शाही, सम्बन्धित पालिकाका कृषि शाखा प्रमुख, सहकारी संस्थाका अध्यक्ष तथा खरिदकर्ताले हस्ताक्षर गरेका छन्।









