२०८३ भदौ २७ , शनिबार

महिला किसानलाई फलफूल बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सम्पन



दैलेखको दुल्लु नगरपालिकामा महिला किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने फलफूल बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ।

फलफूल खेतीलाई व्यवस्थित, उत्पादनमुखी र व्यावसायिक बनाउन किसानलाई आवश्यक प्राविधिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहलमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पहल तथा सेवक नेपालको कार्यान्वयन साझेदारीमा तालिम सञ्चालन गरिएको हो।

तालिममा नवजागरण फलफूल तथा ताजा तरकारी कृषि समूह र रानीवन तोरया अर्गानिक कृषि सहकारीमा आबद्ध २१ जना महिला किसानको सहभागिता रहेको थियो। सहभागी किसानलाई फलफूल बगैँचा व्यवस्थापनदेखि उत्पादन वृद्धि र रोग तथा कीरा नियन्त्रणसम्मका विषयमा व्यावहारिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो।

तालिममा सुन्तला खेती व्यवस्थापन, बगैँचा सरसफाइ, बिरुवाको उचित दूरी, मलखाद व्यवस्थापन, सिँचाइ, छाँटकाँट, रोग तथा कीरा पहिचान र नियन्त्रणका उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। यस्तै, फलफूलको गुणस्तर कायम राख्ने, उत्पादन लागत घटाउने तथा व्यावसायिक रूपमा खेती विस्तार गर्ने विषयमा समेत छलफल गरिएको थियो।

तालिममा सहभागी दिलमाया केसीले सुन्तला खेतीमा लाग्ने विभिन्न रोगका कारण फलफूलमा असर पर्ने गरेको बताउँदै तालिमबाट रोगको पहिचान र नियन्त्रणका उपायबारे जानकारी लिने अवसर मिलेको बताइन्। ‘सुन्तलामा लाग्ने रोगका कारण उत्पादनमा समस्या हुने गरेको थियो। तालिममा रोग कसरी पहिचान गर्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी पाइयो,’ उनले भनिन्।

सुन्तला खेतीमा विभिन्न रोग तथा किराको समस्या देखिने गरेको अवस्थामा तालिमबाट त्यसको पहिचान र व्यवस्थापनका उपायबारे जानकारी पाउँदा किसानलाई थप सहज भएको सहभागीले बताएका छन्।

तालिमको सहजीकरण दुल्लु नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाशकुमार खड्काले गरेका थिए। कार्यक्रममा सेवक नेपाल तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

यस्तै, नारायण नगरपालिका–४, रतापानीस्थित फागुनेहरियाली किसान समूहका महिला किसानका लागि व्यवसायिक स्वास्थ्य सुरक्षा (OSH) सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

तालिममा महिला किसानले कृषि कार्यका क्रममा अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षाका उपाय, कार्यस्थलमा हुन सक्ने जोखिमको पहिचान, जोखिम न्यूनीकरणका उपाय, व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग, सुरक्षित कृषि औजारको प्रयोग तथा स्वास्थ्य सुरक्षाका विषयमा जानकारी प्राप्त गरेका थिए।

कृषि क्षेत्रमा काम गर्ने क्रममा चोटपटक, विषादीको प्रयोगबाट हुन सक्ने स्वास्थ्य जोखिम, भारी सामान उठाउँदा अपनाउनुपर्ने सावधानी तथा काम गर्ने स्थानको सुरक्षित व्यवस्थापनलगायतका विषयमा समेत प्रशिक्षण दिइएको थियो।

तालिमको सहजीकरण नारायण नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले गरेका थिए।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।