दैलेखको भैरवी र महाबु गाउँपालिकाका महिला किसानलाई तरकारी बालीको कटानीपछिको व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।
भैरवी गाउँपालिका–३ चगत्रास्थित चगत्रा कृषि तथा पशुपालन सहकारी तथा महाबु गाउँपालिका–४ काडाँसिरैलास्थित जनसक्रिय र न्यू पञ्चकोशी कृषि समूहका महिला किसानलाई उत्पादन गरिएको तरकारीको गुणस्तर कायम राख्ने, कटानीपछिको क्षति न्यूनीकरण गर्ने, सुरक्षित भण्डारणको अभ्यास विकास गर्ने तथा बजारमा राम्रो मूल्य प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

उक्त तालिम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमअन्तर्गत परिमाण–२ को आर्थिक सशक्तीकरण कार्यक्रममार्फत सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पहलमा सेवक नेपालको कार्यान्वयन साझेदारीमा आयोजना गरिएको थियो।
तालिममा तरकारी बालीको उचित कटानीपछिको व्यवस्थापन, छनोट तथा ग्रेडिङ, वैज्ञानिक भण्डारण, गुणस्तर संरक्षण, रोग तथा किराको संक्रमणबाट बच्ने उपाय, प्याकेजिङ तथा बजारको मागअनुसार उत्पादन व्यवस्थापनका विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो। सही पोस्ट–हार्भेस्ट व्यवस्थापन अपनाउँदा उत्पादनको गुणस्तर लामो समयसम्म कायम रहने, क्षति कम हुने र किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने विषयमा विशेष जोड दिइएको थियो।
तालिमको सहजीकरण भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रीतम थापा, नारायण नगरपालिकाका कृषि शाखा प्रमुख मुकेश पनेरु र महाबु गाउँपालिकाका कृषि शाखा प्रमुख सागर भूसालले गरेका थिए।
कार्यक्रममा चगत्रा कृषि तथा पशुपालन सहकारीका अध्यक्ष मोतिराम अधिकारीले यस्ता सीपमूलक तालिमले किसानको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नुका साथै कृषि उत्पादनलाई थप व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। अनुसन्धानमा आधारित प्रविधि र सीपलाई व्यवहारमा लागू गर्न सके उत्पादनको गुणस्तर वृद्धि हुनुका साथै किसानको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो।
तालिममा सहभागी मानकुमारी गुरुङले तालिमबाट कटानीपछिको व्यवस्थापन, सुरक्षित भण्डारण र गुणस्तर संरक्षणबारे नयाँ ज्ञान हासिल भएको बताउँदै सिकेका सीपलाई व्यवहारमा लागू गरी उत्पादनको क्षति कम गर्ने र राम्रो मूल्यमा तरकारी बिक्री गर्ने प्रयास गर्ने बताइन्।
त्यसैगरी,महाबु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले तालिमबाट प्राप्त ज्ञान, सीप र प्रविधिलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न सके तरकारी उत्पादनको गुणस्तरमा सुधार आउनुका साथै कटानीपछिको क्षति न्यूनीकरण भई किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न र आम्दानी वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। तालिममा महाबुका २६ जना र भैरवीका २४ जना महिला किसानको सहभागिता रहेको थियाे ।









