दैलेखको महाबु गाउँपालिकामा सञ्चालित दुई कृषक समूहले आफ्ना कृषि उपजको सुनिश्चित बजारीकरणका लागि सुर्खेतका एक थोक व्यापारीसँग कृषि उपज खरिद–बिक्री सम्झौता गरेका छन्।
महाबु गाउँपालिकाका न्यू पञ्चकोशी ताजा तरकारी तथा आलु उत्पादक समूह र जनसक्रिय तरकारी तथा फलफूल उत्पादक समूहले वीरेन्द्रनगर–६, सुर्खेतस्थित ज्वाला तरकारी तथा फलफूल पसलका सञ्चालक कृष्णबहादुर शाहीसँग छुट्टाछुट्टै वार्षिक सम्झौता गरेका हुन्।

सम्झौताको मुख्य उद्देश्य किसानले उत्पादन गरेका कृषि उपजको नियमित, व्यवस्थित, गुणस्तरीय तथा पारदर्शी बजारीकरण सुनिश्चित गर्नु, उत्पादक र व्यापारीबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्नु तथा बजारको मागअनुसार कृषि उपजको आपूर्ति सुदृढ गर्नु रहेको छ। यसबाट किसानले उत्पादनपछि बजार खोज्दै भौंतारिनुपर्ने अवस्थाको अन्त्य भई उत्पादन र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने अपेक्षा गरिएको छ।
जनसक्रिय तरकारी तथा फलफूल उत्पादक समूहकी अध्यक्ष कर्णा मगर्नीले खरिद–बिक्री सम्झौताले किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने समस्या कम हुने बताइन्। उनले यस सम्झौतामार्फत किसानले उत्पादनको सुनिश्चित बजार र उचित मूल्य पाउने विश्वास व्यक्त गर्दै यसले गुणस्तरीय उत्पादन वृद्धि गर्न तथा व्यावसायिक खेती विस्तार गर्न थप प्रेरणा मिल्ने बताइन्।
यस्तै, न्यू पञ्चकोशी ताजा तरकारी तथा आलु उत्पादक समूहकी अध्यक्ष बीनु गाहाले कृषक–व्यापारीबीचको सम्झौताले किसानको उत्पादनले सुनिश्चित बजार पाउने विश्वास व्यक्त गरिन्। उनले यसले किसानलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुग्नुका साथै उत्पादन बढाएर व्यावसायिक खेतीतर्फ अघि बढ्न थप हौसला मिल्ने बताइन्।
बजारको मागअनुसार गुणस्तरीय तरकारी तथा फलफूलको नियमित आपूर्ति सुनिश्चित हुने बताए। उनले किसानलाई बजारको आवश्यकता अनुसारका तरकारी तथा फलफूल उत्पादन गर्न प्रोत्साहित गरिने र स्थानीय उत्पादनलाई उचित मूल्यमा खरिद गरी किसान र व्यापारी दुवैलाई लाभ पुग्ने वातावरण निर्माण गरिने ज्वाला तरकारी तथा फलफूल पसलका सञ्चालक शाहीले प्रतिबद्धता व्यक्त गरे।
सम्झौताअनुसार कृषक समूहहरूले मौसमी तरकारी तथा फलफूल उत्पादन गरी थोक व्यापारीलाई उपलब्ध गराउनेछन्। खरिद गरिने प्रमुख उत्पादनमा बोडी, हरियो खुर्सानी, भण्टा, सिमी, टमाटर, जुनार, कागती, अमिला, काँक्रो, धनियाँ, काउली, बन्दा, साग, आलुलगायतका कृषि उपज समावेश छन्। उत्पादन संकलन समूहले तोकिएको स्थानबाट गर्ने व्यवस्था गरिएको छ भने आवश्यकताअनुसार संकलन तालिका दुवै पक्षको सहमतिमा तय गरिनेछ।
सम्झौतामा कृषि उपजको मूल्य निर्धारण बजारको प्रचलित थोक मूल्य, उत्पादन लागत, मौसम, गुणस्तर, ग्रेडिङ, ढुवानी तथा प्याकेजिङ खर्चका आधारमा आपसी सहमतिबाट गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ। बजार मूल्यमा उतारचढाव आएमा दुवै पक्षको सहमतिमा मूल्य पुनः समायोजन गर्न सकिने व्यवस्था पनि गरिएको छ।
सम्झौताअनुसार कृषि उपजको ढुवानीको सम्पूर्ण जिम्मेवारी खरिदकर्ताले लिनेछन्। उत्पादन खरिद गरेपछि आवश्यक परीक्षण सम्पन्न गरी विशेष परिस्थितिबाहेक अधिकतम एक महिनाभित्र किसान समूहलाई भुक्तानी गरिनेछ। भुक्तानी बैंक वा नगदमार्फत समूहलाई उपलब्ध गराइने र त्यसपछि समूहले आफ्ना सदस्य किसानलाई वितरण गर्ने उल्लेख छ ।
कृषक समूहले उत्पादनको ग्रेडिङ तथा गुणस्तर सुनिश्चित गर्नुपर्ने, विषादीरहित, सफा, स्वस्थ तथा बिक्रीयोग्य कृषि उपज मात्रै संकलन गरिने तथा गुणस्तरका आधारमा मूल्य निर्धारण हुने उल्लेख गरिएको छ। ढुवानीका क्रममा हुने जोखिम व्यवस्थापनको जिम्मेवारी पनि खरिदकर्ताले नै लिने छन् भने, दुवै पक्षले उत्पादनको निरन्तरता, बजारको मागअनुसार नियमित आपूर्ति, व्यावसायिक गोपनीयता कायम गर्ने तथा प्रचलित कानुन, कृषि नीति र स्थानीय सरकारका नियमहरूको पालना गर्ने प्रतिबद्धता जनाएका छन्। सम्झौतामा उल्लेख नभएका विषय आपसी सहमतिमा टुंग्याइने व्यवस्था गरिएको छ।
यो कार्यक्रम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पहलमा तथा सेवक नेपालको कार्यान्वयन साझेदारीमा आयोजना गरिएको हो। कार्यक्रम दैलेखका नारायण र दुल्लु नगरपालिका तथा भैरवी र महाबु गाउँपालिका, साथै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेको छ।
सम्झौता एक वर्षका लागि लागू हुनेछ। आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा नवीकरण वा परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ। महाबु गाउँपालिकाको कृषि शाखा, बजार व्यवस्थापन समितिका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न सम्झौताले स्थानीय कृषकको उत्पादनलाई स्थायी बजारसँग जोड्दै आयआर्जन वृद्धि, कृषि उद्यमको व्यावसायीकरण तथा दिगो बजार प्रणाली विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









