२०८३ भदौ २७ , शनिबार

दैलेखका महिला किसानलाई आलु बालीको कटानीपछिको व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न



दैलेखको नारायण नगरपालिकाका  महिला किसानलाई आलु बालीको कटानीपछिको व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

नारायण नगरपालिका–४, रतापानीस्थित फागुनेहरियाली किसान समूहका महिला किसानहरूले उत्पादन गरेको आलुको गुणस्तर कायम राख्ने, कटनीपछिको क्षति न्यूनीकरण गर्ने, सुरक्षित भण्डारणको अभ्यास विकास गर्ने तथा बजारमा राम्रो मूल्य प्राप्त गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

उक्त तालिम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल “सशक्त महिला, समृद्ध नेपाल (EWPN)” कार्यक्रमअन्तर्गत परिमाण–२ को आर्थिक सशक्तीकरण कार्यक्रममार्फत सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को पहलमा सेवक नेपालको कार्यान्वयन साझेदारीमा आयोजना गरिएको थियो।

तालिममा आलु बालीको कटनीपछिको उचित व्यवस्थापन, छनोट तथा ग्रेडिङ, वैज्ञानिक भण्डारण, गुणस्तर संरक्षण, रोग तथा किराको संक्रमणबाट बच्ने उपाय, प्याकेजिङ र बजारको मागअनुसार उत्पादन व्यवस्थापनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

उत्पादनपछिको सही व्यवस्थापन अपनाउँदा आलुको गुणस्तर लामो समयसम्म कायम रहने, नोक्सानी कम हुने र किसानले राम्रो मूल्य प्राप्त गर्न सक्ने विषयमा विशेष जोड दिइएको थियो।

तालिमको सहजीकरण बागबानी अनुसन्धान केन्द्र, दैलेखका प्रमुख जीत नारायण चौधरीले गरेका थिए। उनले उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै कटनीपछिको व्यवस्थापनलाई पनि कृषि उत्पादनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताए।

वैज्ञानिक भण्डारण, उचित तापक्रम र आर्द्रताको व्यवस्थापन तथा गुणस्तरअनुसार वर्गीकरण गरी बजारमा बिक्री गर्न सके किसानले थप आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।

कार्यक्रममा गोठपाडा कृषि सहकारीकी अध्यक्ष मुना थापा ले यस्ता सीपमूलक तालिमले किसानहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्नुका साथै कृषि उत्पादनलाई थप व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनले अनुसन्धानमा आधारित प्रविधि र सीपलाई व्यवहारमा लागू गर्न सके उत्पादनको गुणस्तर वृद्धि हुनुका साथै किसानहरूको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।

तालिममा सहभागी सरिता तारामी मगरले तालिमबाट आलु बालीको बालीपछिको व्यवस्थापन, सुरक्षित भण्डारण र गुणस्तर संरक्षणबारे नयाँ ज्ञान हासिल भएको बताइन्।

उनले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरी उत्पादनको क्षति कम गर्दै राम्रो मूल्यमा आलु बिक्री गर्ने प्रयास गर्ने बताइन्।

यस्तै तालिममा २८ जना महिलाको सहभागिता रहेको थियो भने तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी आलु उत्पादनको गुणस्तर सुधार, कटनीपछिको क्षति न्यूनीकरण तथा आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।