२०८३ असोज १ , बिहीबार

सुर्खेतमा ४७६ किलो विषादीयुक्त तरकारी नष्ट



सुर्खेतस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले विभिन्न जिल्लाबाट आएका तरकारीमा उच्च मात्रामा विषादी भेटिएपछि ठूलो परिमाणमा नष्ट गरेको छ।

प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीका अनुसार वैशाख १६, १९, २२ र २३ गते गरिएको परीक्षणमा तरकारीमा अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको हो।

उनका अनुसार वैशाख १६ गते दैलेखको गुराँस गाउँपालिकाबाट आएको १६० किलो काउलीमा अर्गानोफस्फेट समूहको विषादी ९५.०५ प्रतिशत पाइएपछि नष्ट गरिएको थियो। त्यसैगरी वैशाख १९ गते बर्दियाबाट आएको २०५ किलो गोलभेडामा ५३.५३ प्रतिशत विषादी भेटिएको थियो।

यस्तै, वैशाख २२ गते सुर्खेतको रतुबाट आएको ८० किलो काउलीमा ४५.६३ प्रतिशत विषादी पाइएपछि नष्ट गरिएको छ। मंगलबार वैशाख २३ गते दाङबाट आएको ३१ किलो बोडीमा ५८.७३ प्रतिशत विषादी फेला परेपछि उक्त तरकारी पनि नष्ट गरिएको धामीले जानकारी दिए।

उनका अनुसार पछिल्लो एक सातामा मात्रै कुल ४७६ किलो विषादीयुक्त तरकारी नष्ट गरिएको छ।

प्रयोगशालाले बजारमा आउने तरकारीको नियमित परीक्षणलाई कडाइ गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।

धामीका अनुसार तरकारीमा प्रयोग हुने अर्गानोफस्फेट समूहका विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन्। यस्ता विषादी शरीरमा प्रवेश गर्दा टाउको दुख्ने, वान्ता हुने, चक्कर लाग्ने, आँखा पोल्ने र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन्।

दीर्घकालीन रूपमा यस्ता विषादीयुक्त खाद्य पदार्थको सेवनले स्नायु प्रणालीमा असर पर्ने, स्मरणशक्ति कमजोर हुने, कलेजो तथा मिर्गौलामा समस्या आउने, हर्मोन असन्तुलन हुने र क्यान्सरसम्मको जोखिम बढ्न सक्ने उनले बताए।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।