कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव सिफारिस प्रक्रिया अघि बढ्योको छ ।

सामाजिक विकास मन्त्रालयले २०८२ मंसिर ९ गते परिषद्को सदस्य-सचिव पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको थियो।
सोही आह्वानअनुसार परेका दरखास्तमध्ये २१ जना आवेदकमध्ये १० जना उम्मेदवार प्रारम्भिक छनोटमा परेका हुन्।
मन्त्रालयका अनुसार ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिव छनोटसम्बन्धी मापदण्ड, २०८२’ को दफा ७ बमोजिम उम्मेदवारहरूले स्वयं प्रमाणित गरी पेस गरेका शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी कागजातहरूको मूल्याङ्कनपछि प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक गरिएको हो। सोही मापदण्डको दफा ७ को उपदफा (७) अनुसार योग्यताक्रम तयार गरिएको मन्त्रालयले जनाएको छ।
वर्णानुक्रमअनुसार प्रारम्भिक योग्यताक्रममा परेका उम्मेदवारहरूमा जुम्लाका चेतनराज गिरी, दैलेखका जगतप्रसाद रिजाल, सुर्खेतका दीपक हमाल र दिलीप बस्याल रहेका छन्। यस्तै कालीकोटका पंखबहादुर मल्ल, दैलेखका पवनकुमार थापा, सुर्खेतका प्रभात थापा, प्रमोद हमाल र रवीन्द्र चन्द तथा दैलेखकी हेमा खड्काको नाम सूचीमा समावेश गरिएको छ।
प्रारम्भिक योग्यताक्रममा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आगामी माघ ३ गतेका लागि तोकिएको मन्त्रालयले जनाएको छ।
२०७७ पुस ६ गते नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य-सचिव विश्वामित्र सञ्ज्यालको चार वर्षे कार्यकाल २०८१ पुस ६ गते समाप्त भएको थियो।
परिषद् पद रिक्त भएको करिब एक वर्षपछि प्रदेश सरकारले सदस्य-सचिव नियुक्तिको प्रक्रिया अघि बढाएको हो।








