२०८३ भदौ २९ , सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे नेपालका युवाहरूको प्रशंसा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको परिवर्तनमा संलग्न युवाहरूको प्रशंसा गरेका छन्।

उत्तरपूर्वी भारतको मणिपुरमा पुगेका मोदीले एक कार्यक्रममा सम्बोधन गर्दै नेपालको पछिल्लो परिवर्तन र नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन लामै समय खर्चिए।

नेपालबारे उनको वक्तव्यको अंश यहाँ साभार गरिएको छ:

साथीहरू आज मणिपुरको यो धरतीबाट म नेपालकाबारेमा पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको एक मित्र हो, नजिकको साथी हो। हामी साझा इतिहाससँग, आस्थासँग जोडिएका छौँ। साथै मिलेर अघि बढिरहेका छौँ। नेपालमा नेपालका अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार सम्हालेकोमा १ अर्ब ४० करोड भारतवासीका तर्फबाट सुशीलाजीलाई हार्दिक बधाई दिन्छु।

मलाई विश्वास छ कि उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुने छ।

पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको एकदमै उत्तम उदाहरण हो। म आज नेपालका त्यस्ता हरेक व्यक्तिको सराहना गर्छु जसले यस्तो अस्थिरताको माहौलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे।

साथीहरू, नेपालमा भएका घटनाक्रममा अर्को कुरा पनि विशेष छ जसमा मानिसहरूको ध्यान गएको छैन। पछिल्ला दुई तीन दिनदेखि नेपालका युवायुवतीहरूले नेपालका सडकमा सफाइ र रङ्गरोगनका काम बडो मेहनत र पवित्रताको भावनाका साथ गरिरहेको देखिएको छ।

सामाजिक सञ्जालमा आइरहेका उनीहरूका तस्बिर मैले पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच यो सकारात्मक कार्य केवल प्रेरणादायक मात्रै छैन यो नेपालको नवउदयको स्पष्ट सङ्केत पनि हो।

म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना दिन्छु।

प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।