२०८३ साउन ११ , सोमबार

कर्णाली प्रदेश: सहिदको बलिदान र युवाका अधूरा सपना



आज भन्दा १० बर्षअघि, वि.सं. २०७२ साउन २३ गते सुर्खेतबाट सुरु भएको अखण्ड मध्यपश्चिम आन्दोलन कर्णाली प्रदेशका युवाका लागि आज पनि प्रेरणाको स्रोत बनेर उभिएको छ।

म त्यतिबेला १६ वर्षको तन्नेरी थिएँ । शरीरमा जोश, मनमा क्रान्तिको भावना ।

रेडियो सुन्ने र पत्रिका पढ्ने बानीले सोच फरक थियो, र हामीले विश्वास गरेका थियौँ । आफ्नै प्रदेशले शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारीको अवसर सहजै उपलब्ध गराउनेछ।

तर दशक बितिसक्दा पनि त्यो विश्वास अझै अधुरो सपना मात्र बनेको छ। कर्णालीका युवाले अहिलेसम्म प्रादेशिक युवा नीति र पूर्ण रूपमा कार्यशील युवा परिषद् पाएका छैनन्। यो अधुरोपन आन्दोलनमा सहिद बनेका युवाको बलिदानप्रति गम्भीर बेवास्ता हो।

सहिद याम बिसी, गोपालसिं रजवार, टीकाराम गौतम र हरिबहादुर कुँवर यिनकै बलिदानले कर्णाली प्रदेश सम्भव भएको हो।

उनीहरूले सडकमा प्राण गुमाए, हामीले आत्मबल पायौँ । तर प्रदेशले उनीहरूको परिवार र युवाको सपना अझै पूरा गर्न सकेको छैन।

उनीहरूले सडकमा प्राण गुमाए, हामीले आत्मबल पायौँ । तर प्रदेशले उनीहरूको परिवार र युवाको सपना अझै पूरा गर्न सकेको छैन। वीरेन्द्रनगरका सहिद परिवारले रोजगारी, छात्रवृत्ति, स्मारक र स्वास्थ्य सुविधा माग गरेका छन् । तर ती धेरै आशा अझै कागजमै सीमित छन्।

हिजोकोआन्दोलन केवल सीमाङ्कनको मुद्दा थिएन। त्यो आन्दोलनले देखायो, यदि जनता आफ्नो अधिकारका लागि सडकमा उत्रन्छ भने, सत्ता, शक्ति र उपेक्षाको पर्खाल तोड्दै परिवर्तन सम्भव हुन्छ।

भदौ ४ गतेको ऐतिहासिक दिन-जब जनताले आफ्नै नेताहरुलाई सडकमा आउन बाध्य पारे । आज पनि कर्णालीको इतिहासमा गौरवका पानामा अंकित छ।

तर, दशक बित्दा पनि युवाको दैनिकीमा ठोस परिवर्तन आएको छैन। हामीले चाहेको आफ्नै प्रदेशभित्र अध्ययन, उद्यम, रोजगारी र स्वास्थ्य सुविधामा सहज पहुँच अझै सपना मात्र बनेको छ।

अहिलेसम्म ४ मुख्यमन्त्री र ६ जना सामाजिक विकास मन्त्री आए, तर युवाको आवाजलाई नीति निर्माणमा सशक्त ढंगले स्थापित गर्ने कदम पर्याप्त चलेन।

अब समय आएको छ । कर्णाली प्रदेशले युवाको सशक्तिकरण, उद्यमशीलता, सीप विकास र लगानीको अवसर सिर्जनामा ठोस पहल गर्नुपर्छ। प्रादेशिक युवा नीति तत्काल लागू गरियोस्, प्रदेश युवा परिषद् पूर्ण रूपमा सक्रिय होस्।

सहिद परिवारका माग रोजगारी, छात्रवृत्ति, स्वास्थ्य सुविधा, स्मारक निर्माण र स्मृति दिवस सम्पूर्ण रूपमा सम्बोधन गरियोस्।

हिजो सडकमा उत्रिएका युवा आज पनि प्रदेशप्रति विश्वास राख्छन्। तर त्यो विश्वास केवल सपना र भाषणमै सीमित रहनु हुँदैन। यसलाई नीति, संरचना र व्यवहारमा परिणत गर्नु प्रदेशको जिम्मेवारी हो। जब युवाले आफ्नै भूमिमा बस्दै शिक्षा, रोजगारी र स्वास्थ्य पाउनेछन्; जब सहिदको बलिदान केवल स्मरणमा होइन, प्रत्यक्ष जीवनमा प्रतिविम्बित हुनेछ ।

हाम्रो आन्दोलनको सार्थकता पुष्टि हुनेछ, संघीयताप्रतिको विश्वास मजबुत हुनेछ, र सहिदहरूको सपना साकार हुनेछ।

कर्णालीका युवाहरू अझै पर्खाइमै छन्। हाम्रो बलिदान, हाम्रा सहिद र हाम्रा सपना अधूरै रहनु हुँदैन।

प्रदेशले युवाको नेतृत्व, सीपमूलक अवसर र उद्यमशीलतालाई प्राथमिकतामा राखे मात्र सहिदको बलिदान सम्मानित हुनेछ र कर्णाली प्रदेशले आफ्नो वास्तविक पहिचान पाउनेछ।

लेखक: राजेन्द्र अधिकारी, कर्णाली प्रदेशको पहिलो स्थानीय युवा परिषद्, भगवतीमाई गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।