
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा युवा दिवस मनाउन लागिएको छ। “समृद्ध कर्णालीका लागि युवा” भन्ने विषयमा प्रदेशस्तरीय बहस कार्यक्रम आयोजना हुने भएको हो।
कर्णाली यूथ सोसाइटीको आयोजनामा हुने उक्त बहस कार्यक्रम भोलि बिहान ११ बजेदेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, कुईनेपानीमा सुरु हुनेछ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष सुप्रिया शाहीले “अब युवालाई सुनौँ” भन्ने मूल नारासहित प्रदेशभरिका युवाको विचार, सुझाव र भूमिकालाई नीति निर्माण तहसम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
बहस कार्यक्रममा वक्ताका रूपमा ६ जना युवा व्यक्तित्वहरूको सहभागिता रहनेछ। उनीहरूमा मनोसामाजिक परामर्शकर्ता शर्मिला बिसी, रवि किरण हमाल, प्रतिमा केसी, दीपेश शाही ठकुरी, प्रकाश खड्का र आदर्श विक्रम सिंह ठकुरी रहेका छन्।
उनीहरूले कर्णालीको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक विकासमा युवाको भूमिका र सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायत अन्य प्रदेश सांसदहरूको पनि उपस्थिति रहने अध्यक्ष शाहीले बताइन्।
यस बहस कार्यक्रममा कर्णाली प्रदेशका सबै १० जिल्लाबाट युवा प्रतिनिधिहरूको समेत सहभागिता रहने छ।









