२०८३ भदौ ३१ , बुधबार
भ्लग

जुम्लाको सौन्दर्यसँगै हृदयेन्द्र शाहको सरलता भ्लगमार्फत सार्वजनिक

मान्छेले राम्रो काम गर्याे भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्याे, आँट गर्नुपर्याे-हृदयेन्द्र शाह


हृदयेन्द्रको सरलता, भद्रता र वास्तविक शैलीको सामािजक सञ्जालमा प्रशंसा गरिरहेका छन् ।   बुधवार २४ वर्ष पुगेका हृदयेन्द्र शाहले आफ्नो जन्मदिनसँगै एक फरक उपहार आफ्ना दर्शकलाई दिएका छन्। पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाहका छोरा हृदयेन्द्रले जुम्ला उपत्यकाको घुमफिर र त्यहाँको सौन्दर्य समेटिएको भ्लग सार्वजनिक गरेका छन्।

करिब १५ मिनेटको उक्त भिडियो भ्लगमा जुम्लाको रमणीयता मात्रै होइन, हृदयेन्द्रको विचार, रुचि र सरल व्यक्तित्वलाई पनि दर्शकले नजिकबाट देख्न पाएका छन्। अहिलेसम्म मिडिया वा डिजिटल माध्यममा यति खुलेर नदेखिएका हृदयेन्द्रले यस पटक आफैँ प्रस्तुत भएर कर्णालीका दृश्य, मानिस र आफ्नो दृष्टिकोणलाई भ्लगमार्फत बाँडेका छन्।

केही महिनाअघि हिमानी फाउन्डेसनको कार्यक्रममा सहभागी हुन कर्णाली पुगेका हृदयेन्द्रले स्याउ बगैँचा, स्थानीय कफिसप, वृद्धवृद्धा र विद्यार्थीहरूसँगको भेटघाटलाई पनि भिडियोमा उतारेका छन्। भिडियोमा एक स्थानीय युवती पञ्चकली बुढाले सोधेको “हाम्रो नेपाल कहिले समृद्ध हुन्छ ?” भन्ने प्रश्नमा हृदयेन्द्रको जवाफले धेरैलाई छोएको छ।

उनले भनेका छन्  ।  “मान्छेले राम्रो काम गर्याे भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्याे, आँट गर्नुपर्याे ।” जुम्लाको सुन्दरतालाई प्रशंसा गर्दै उनले फेरि पनि आउने इच्छा व्यक्त गरेका छन्। आफूले नेपालका धेरै ठाउँ घुमिसकेको र हिमालतिर अझ बढी घुम्न मन लागेको पनि बताएका छन्।

भिडियोमा उनले आफू एनिमे सिरिजका ठुला प्रशंसक रहेको र विशेष गरी वानपिस हेर्ने गरेको जानकारी पनि दिएका छन्। भित्तामा टाँसिएका एनिमेका पोस्टर देखाउँदै उनले आफूले पनि एनिमे बनाउन रुचाउने बताएका छन्।

उनको यो भ्लग अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ। दर्शकहरूले  भिडियोमा जुम्लाको सौन्दर्य देखेर धेरैले त्यहाँ घुम्न जानुपर्ने भन्दै प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।