सुर्खेत, जाजरकोट र रुकुम पश्चिम गरी तीन जिल्लाका डिभिजन वन कार्यालयले एकै वर्षमा १ लाख ४२ हजार बढी बिरुवा उत्पादन गरेर सब डिभिजन वन कार्यालय र सामुदायिक वनहरूलाई वितरण गरेका छन् । यी कार्यालय विभिन्न ठाउँमा स्थायी बहु वर्षीय वन नर्सरी स्थापना गरी सो सङ्ख्यामा बिरुवा उत्पादन गरिएको हो ।

रुकुम पश्चिममा डिभिजन वन कार्यालयको पहलमा गत आर्थिक वर्ष २०८१/०८२ मा १० हजार बिरुवा रोपिएको छ । कार्यालयका प्रमुख दिनेश जङ खत्रीका अनुसार जिल्लाका १४ वटा सामुदायिक वन समितिलाई निःशुल्क बिरुवा उपलब्ध गराइएको हो ।
उनका अनुसार वितरण गरिएका सबै बिरुवा सामुदायिक वन उपभोक्ता समितिहरूले सामुदायिक वनमा रोपिसकेका छन् । खत्रीका अनुसार दुई हजारभन्दा बढी बिरुवा मुसिकोट नगरपालिका–१ सल्ले स्थित चण्डीदल गण आर्मी ब्यारेकमा पनि रोपिएको छ ।
केही बिरुवा बाँफिकोट सब डिभिजन कार्यालय छिन खेत र मुसिकोट सब डिभिजन कार्यालय चाँपामा रहेका छन् । सामुदायिक वनलाई हराभरा बनाउने, वनमार्फत आर्थिक अवस्था मजबुत पार्ने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले वृक्षारोपणलाई प्राथमिकता दिइएको प्रमुख खत्रीले जानकारी दिए ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन जडीबुटी, डाले घाँस, बहुप्रयोगी र बहु वर्षीय प्रजातिका बिरुवा उत्पादन
यस्तै डिभिजन वन कार्यालय जाजरकोटले गत आर्थिक वर्ष २०८१/०८२ मा ५४ हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ । कार्यालयले भेरी नगरपालिकामा स्थायी बहु वर्षीय वन नर्सरी स्थापना गरी ५४ हजार २ सय ३४ बिरुवा हुर्काएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अज रावलले जानकारी दिए ।
उनका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन जडीबुटी, डाले घाँस, बहुप्रयोगी र बहु वर्षीय प्रजातिका बिरुवा उत्पादन गरिएको उनले बताए । रिट्ठा, तेज पात, अमला, खयर, हर्रो, बर्रो, सिसौ, काउलो, धुपी, चिउरो, टिमुर, किम्बु, लस्सी, मयुर पङ्खी र कल्की फूलजस्ता विभिन्न प्रजातिका बिरुवा हुर्काउन ९ लाख २ हजार २ सय ९४ रुपैयाँ खर्च भएको छ ।
यी बिरुवा सडक क्षेत्र, खाली जग्गा, सडक किनारा, सडक डिभाइडर तथा विद्यालय, पार्क, मन्दिरजस्ता सार्वजनिक र धार्मिक स्थानमा रोपेर जिल्लाका विभिन्न ठाउँमा हरियाली प्रवर्द्धन गरिने रावलले बताए । उनका अनुसार यी बिरुवाहरूले वातावरणीय सुधारसँगै वनजन्य सम्पदाको दीर्घकालीन संरक्षणमा पनि योगदान पुर्याउने उनको दाबी छ ।

यस्तै डिभिजन वन कार्यालय सुर्खेतले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ का लागि ७८ हजार बढी बिरुवा हुर्काएको छ । सुर्खेतका चार पालिकामा रहेको नर्सरीमा ७८ हजार ४ सय बिरुवा उत्पादन गरेर हुर्काइएको हो । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा स्थायी बहु वर्षीय वन नर्सरी स्थापना गरेर ती बिरुवा हुर्काइएको जानकारी दिए ।
उनले वीरेन्द्रनगर र भेरीगंगामा १७/१७ हजार तथा लेकवेशी र सिम्तामा २२ हजार २ सय बिरुवा उत्पादन गरिएको बताए । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन कार्यालयले ७८ हजार ४ सय बिरुवा हुर्काएको श्रेष्ठको भनाइ छ । उनकाअनुसार त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, बहु उपयोगी बिरुवा, बहु वर्षीय बिरुवा रहेका छन् । प्रदेश सरकारको १७ लाख रुपैयाँमा वन कार्यालयले बिरुवा हुर्काइरहेको हो ।











