नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा र्कीतिमान बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ।

संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो।
यो आविद्धतासँगै नेपालगन्ज नेपालकै पहिलो सहर बनेको छ जहाँ एम्स द्वारा मान्यता प्राप्त दुई इभेन्टहरू धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन हुनेछन्।
नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ। एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले सहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउनेछ।
नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, “यसले सहरको ब्रान्डसङमा सहयोग गर्छ र विदेशी सहभागीहरूलाई अपडेट गराउँछ।” नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन,
कर्णाली हाफ म्याराथन र गौघाट ग्रिन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन्। ठकुरीका अनुसार यी दौडहरूलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको छ। गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौँ २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको थियो।
उक्त भ्रमणकै क्रममा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओ ले नेपालगन्ज म्याराथनको रुट पनि अवलोकन गरेका थिए।









