२०८३ वैशाख ८ , मंगलबार

मिडियाका नाममा नक्कली नोटको कारोबार

३० केजीभन्दा बढी अफिमसमेत जस्तो बरामद


सुर्खेत प्रहरीले ठूलो परिमाणमा नक्कली नोट र अफिम जस्तो देखिने लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये एक जना सञ्चार संस्थाका सञ्चालक समेत रहेका छन्।

प्रहरीका अनुसार सोमवार राति १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० शान्ति टोलस्थितबाट जिल्ला जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो।

उनको साथबाट रु. १,००० दरका ६ थान नक्कली नोट, कुल छ हजार रुपैयाँ बराबर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीले जानकारी दिए ।

उनका अनुसार उक्त घटनाको थप अनुसन्धानका क्रममा सोही दिन बेलुकी ६ बजे दिलमायासँगै संलग्न रहेको आरोपमा जाजरकोट कुशे गाउँपालिका–५ खुर्पाका ३३ वर्षीय रामबहादुर सिंह रहेका थिए ।

उनीहरूकै डेरा कोठाबाट रु. १,००० दरका थप १,२३६ थान नक्कली नोट फेला पारिएको छ। यसरी प्रहरीले जम्मा रु. १२ लाख ३६ हजार बराबरको नक्कली नोट बरामद गरेको प्रहरी उपरिक्षक शाहीले जानकारी दिए।

यस्तै अनुसन्धान विस्तार गर्ने क्रममा असार ३१ गते राति १० बजे प्रहरीले जाजरकोट कुशे गाउँपालिका–७ समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बि.कलाई पक्राउ गरेको छ।

उनीहरूको डेरामा खानतलासी गर्दा कालो झोलामा लुकाइराखेको अवस्थामा अफिम जस्तो देखिने ११ पोका लागुऔषध फेला परेको छ। तौल गर्दा उक्त पदार्थको कुल तौल ११ किलो ३७२ ग्राम पुगेको प्रहरीले जनाएको छ।

यसैबीच असार ३१ गते बिहान ८:३० बजे प्रहरीले लागुऔषध र नक्कली नोट प्रकरणमा संलग्न रहेको आरोपमा कालीकोट नरहरीनाथ गाउँपालिका–४ घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रा.लि.’ सञ्चार संस्था सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारीलाई पनि नियन्त्रणमा लिएको छ।

उनको डेरा तथा मिडिया कार्यालय खानतलासी गर्दा रु. १,००० दरका ५१ थान नक्कली नोट, प्रिन्टर, कम्प्युटर सेट र कार्ड एडिटर लगायत नक्कली नोट छाप्न प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ।

साथै, उनले लुकाइराखेको १५ पोकामा राखिएको अफिम जस्तो देखिने १९ किलो ३०० ग्राम लागुऔषध पनि प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका सबैलाई लागूऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीले यो घटनालाई संगठित अपराधसँग जोडेर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार