२०८३ मंसिर १२ , शनिबार

१०औँ राष्ट्रिय खेलकुद : शनिबार नौ खेलमा प्रतिस्पर्धा हुँदै



सुर्खेतको वीरेन्द्रनगरमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न नौ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

खेल तालिकाअनुसार आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन्।

महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ। त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा तथा महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ।

यसैगरी, टेनिस प्रतियोगिता बर्दियामा आयोजना हुनेछ भने कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा हुनेछन्। फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेतमा र शारीरिक सुगठन रुकुम पश्चिमको चौरजहारीमा आयोजना हुनेछ।

खेल तालिकाअनुसार शारीरिक सुगठनका प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु हुनेछन्। टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट र फुलकन्ट्याक्ट कराँते बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्।

त्यस्तै, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल पनि बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।