आजभन्दा चार वर्ष अघि अर्थात २०७९ कात्तिक ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा हस्तान्तरण गरेका थिए। त्यससँगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने औपचारिक प्रक्रिया अघि बढेको थियो। २०८१ मंसिरमै सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता पूर्वाधार निर्माण तथा व्यवस्थापकीय तयारीमा भएको ढिलाइका कारण निर्धारित समयमा हुन सकेन। झन्डै दुई वर्षको प्रतीक्षापछि अन्ततः कर्णालीब खेलकुद क्षेत्रको महाकुम्भमा होमिएको छ। प्रतियोगिताका २३ खेल वीरेन्द्रनगरस्थित रंगशालासहित विभिन्न स्थानमा सञ्चालन हुँदैछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भएको छ।

दुई वर्षको प्रतीक्षापछि कर्णालीले राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाएको छ। यो प्रदेशका लागि गौरव र सम्भावनाको विषय हो। खेलकुदका माध्यमबाट कर्णालीको पहिचान स्थापित गर्ने, खेल पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण अवसर पनि हो। तर, यति लामो प्रतीक्षापछि प्राप्त अवसरलाई लिएर जति उत्साह, तयारी र अपनत्व देखिनुपर्ने हो, त्यसअनुसारको वातावरण बन्न सकेको देखिँदैन। प्रतियोगिताको व्यवस्थापन, प्रचारप्रसार, स्थानीय सरकारको भूमिका र खेलाडीको सहभागितासम्बन्धी विषयले अनेक प्रश्न जन्माएका छन्।
राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु सामान्य जिम्मेवारी होइन। खेलस्थल, खेल सामग्री, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सुरक्षा र प्राविधिक तयारी व्यवस्थित हुनुपर्छ। तर, प्रतियोगिताको तयारी र सञ्चालनका क्रममा देखिएका विभिन्न कमजोरीले आयोजकको कार्यक्षमतामाथि प्रश्न उठेकाे छ। दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगितामा समेत व्यवस्थापनका आधारभूत विषयमा कमजोरी देखिनु झन् विडम्बनापूर्ण हो। लामो समय पर्खिएको प्रतियोगितामा खेलाडीले असहजता होइन, सम्मान र सुविधासहित प्रतिस्पर्धा गर्ने वातावरण पाउनुपर्छ।
अर्को महत्वपूर्ण पक्ष प्रचारप्रसार हो। राष्ट्रिय खेलकुद आयोजना भइरहँदा त्यसको जानकारी आम नागरिकसम्म पुग्नुपर्ने हो। कुन खेल कहिले र कहाँ हुँदैछ, कुन खेलाडी सहभागी हुँदैछन् र स्थानीयले कसरी अवलोकन गर्न सक्छन् भन्ने विषयमा व्यापक सूचना प्रवाह हुनुपर्छ। तर, प्रचारप्रसार प्रभावकारी नहुँदा प्रतियोगिताले आम नागरिकको अपेक्षित ध्यान आकर्षित गर्न सकेको देखिँदैन। राष्ट्रिय स्तरको प्रतियोगिता खेलाडी र आयोजकबीच मात्रै सीमित हुनु हुँदैन। यसमा दर्शक, स्थानीय समुदाय, विद्यालय, युवा क्लब, निजी क्षेत्र र सञ्चारमाध्यमको सक्रिय सहभागिता आवश्यक हुन्छ। प्रतियोगिताको प्रचारप्रसार कमजोर हुँदा खेलकुदको उत्सव आम नागरिकको उत्सव बन्न सकेकाे देखिदैन् ।
त्यस्तै, प्रतियोगिता आयोजना हुने मुख्य क्षेत्र वीरेन्द्रनगर नगरपालिकासहित स्थानीय सरकारको अपनत्व र सक्रियता पनि उत्तिकै महत्वपूर्ण छ। राष्ट्रिय खेलकुदलाई आफ्नो क्षेत्रको गौरव र अवसरका रूपमा लिनुपर्ने स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। प्रतियोगिता सफल पार्न स्थानीय सरकारले औपचारिक सहभागिता जनाएर मात्र पुग्दैन। प्रचारप्रसार, स्वयंसेवक परिचालन, सरसफाइ, यातायात व्यवस्थापन, खेलाडी तथा दर्शकलाई सहज वातावरण निर्माण र स्थानीय समुदायको सहभागिता बढाउने जिम्मेवारी पनि स्थानीय सरकारकै हो। तर, प्रतियोगिताप्रति वीरेन्द्रनगर नगरपालिका र नागरिक तहमा अपेक्षित अपनत्व र उत्साह देखिन नसक्नु दुःखद पक्ष हो। राष्ट्रिय गौरवको प्रतियोगिता आयोजना भइरहँदा आयोजक सहर नै त्यसको उत्सवमा सहभागी हुन नसक्नुले समन्वय र स्वामित्वको अभाव देखिन थालेकाे छ ।
यससँगै केही खेलाडीलाई प्रतियोगितामा सहभागी नगराइएको वा खेलमा समेट्न नसकिएको विषय पनि सार्वजनिक बहसमा आएको छ। खेलाडी छनोट र सहभागिताको विषय संवेदनशील हुन्छ। यसमा पारदर्शिता, निष्पक्षता र स्पष्ट मापदण्ड अनिवार्य हुन्छन्। लामो समयदेखि अभ्यास गरिरहेका र प्रतिस्पर्धाका लागि तयारी गरेका खेलाडी किन सहभागी हुन पाएनन् भन्ने प्रश्नको सम्बन्धित निकायले तथ्यसहित जवाफ दिनुपर्छ। खेलाडी छनोटमा पहुँच, प्रभाव वा अन्य स्वार्थले स्थान पाएको आशंका उत्पन्न हुनु खेलकुदको स्वस्थ प्रतिस्पर्धात्मक संस्कृतिका लागि घातक हुन्छ। यस्ता गुनासालाई बेवास्ता गर्नुको सट्टा निष्पक्ष छानबिन र आवश्यक सुधार गर्नुपर्छ। खेलाडीको प्रतिभा र मेहनतभन्दा अन्य पक्ष हाबी हुने अवस्था आउनु हुँदैन।
राष्ट्रिय खेलकुदले स्थानीय अर्थतन्त्र चलायमान बनाउने, होटल व्यवसाय, यातायात, पर्यटन र साना उद्यमलाई अवसर दिने सम्भावना बोकेको हुन्छ। तर, प्रतियोगितालाई स्थानीय जनजीवनसँग जोड्न नसक्दा त्यसबाट प्राप्त हुन सक्ने लाभसमेत सीमित हुन्छ। वीरेन्द्रनगरले यसलाई केही दिन सञ्चालन हुने खेलकुद कार्यक्रमका रूपमा मात्र होइन, आफ्नो पहिचान र भविष्यसँग जोडिएको अवसरका रूपमा लिन सक्नुपर्थ्यो। स्थानीय सरकार, उद्योग वाणिज्य संघ, नागरिक समाज, सञ्चारमाध्यम, विद्यालय र युवा पुस्ताबीच सहकार्य आवश्यक थियो। प्रतियोगिताको स्वामित्व आयोजक निकायको मात्र नभई समग्र कर्णालीवासीको बन्नुपर्छ।
यी सबै कमजोरीले एउटा महत्वपूर्ण प्रश्न उठाएकाे छ । दुई वर्ष ढिलो गरेर आयोजना गरिएको राष्ट्रिय खेलकुदले कर्णालीको अपेक्षा पूरा गर्न सक्ला कि व्यवस्थापकीय कमजोरीमै अल्झिनेछ ? प्रतियोगिता सम्पन्न हुनु मात्रै सफलता होइन। खेलाडीले सम्मानजनक वातावरण पाउनु, दर्शकले खेल हेर्न पाउनु, स्थानीय समुदायले अपनत्व महसुस गर्नु र आयोजक क्षेत्रले दीर्घकालीन लाभ लिन सक्नु नै वास्तविक सफलता हो।
त्यसैले सम्बन्धित आयोजक निकायले व्यवस्थापकीय कमजोरीको समीक्षा गर्नुपर्छ। खेलाडी छनोट तथा सहभागितासम्बन्धी गुनासाको निष्पक्ष सम्बोधन गर्नुपर्छ। प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्छ। वीरेन्द्रनगर नगरपालिका र अन्य स्थानीय सरकारले पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन। प्रतियोगिताको स्वामित्व लिएर नागरिक सहभागिता बढाउने र स्थानीय अवसरको उपयोग गर्ने पहल गर्नुपर्छ।
राष्ट्रिय खेलकुदमा पदक जित्नु खेलाडीको सफलता हो, तर प्रतियोगितालाई सफल बनाउनु आयोजक र राज्यको जिम्मेवारी हो। खेलाडीलाई मैदानमा प्रतिस्पर्धा गर्ने अवसर नदिने, नागरिकलाई प्रतियोगिताबारे जानकारी नपुर्याउने र आयोजना हुने सहरलाई नै अपनत्व महसुस नगराउने हो भने राष्ट्रिय खेलकुदको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक छ। दुई वर्षको ढिलाइपछि प्राप्त अवसरलाई व्यवस्थापकीय कमजोरीको अर्को उदाहरण बन्न दिनु हुँदैन। दसौँ राष्ट्रिय खेलकुद कर्णालीको गौरव, सामूहिक अपनत्व र सक्षम आयोजनाको नमुना बन्नुपर्छ।











