नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ कर्णाली प्रदेश अधिवेशन आगामी मङ्सिर १३ र १४ गते गर्ने भएको छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश संयोजक रंगमती शाहीले बताएकी छन्।

बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले अधिवेशनमा दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म नेता तथा कार्यकर्ता सहभागी हुने जानकारी दिइन्। उनका अनुसार अधिवेशनका लागि एक हजार दुई सय जना प्रतिनिधि रहेका छन्।
वीरेन्द्रनगरस्थित सिटी हलमा हुने दुईदिने अधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। अधिवेशनमा कांग्रेस नेता शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरू पनि सहभागी हुने शाहीले बताइन्।
अधिवेशनमा सहभागी हुन सभापति देउवा मङ्सिर १२ गते नै सुर्खेत आउने कार्यक्रम रहेको उनले जानकारी दिइन्।
देउवा पक्षले कर्णाली प्रदेशका आठ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। सुर्खेत र डोल्पामा भने जिल्ला अधिवेशन हुन बाँकी छ। प्रदेश र सुर्खेत जिल्ला अधिवेशन सँगसँगै गर्ने तयारी गरिएको संयोजक शाहीले बताइन्।











