दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका मन्त्री तथा अन्य पदाधिकारीको उपस्थितिमा सोमबार निर्माण कम्पनी एमएसी–जीएसएल (जेभी) ले रंगशाला औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
यसअघि मंसिर ५ गते नै रंगशाला हस्तान्तरण गर्ने तयारी गरिएको थियो। तर मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको समय नमिलेपछि कार्यक्रम स्थगित भएको थियो। निर्माण सम्पन्न भए पनि प्राविधिक मूल्यांकन, भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण रंगशाला औपचारिक रूपमा प्रदेश सरकारको जिम्मामा आउन सकेको थिएन।
निर्माण कम्पनीले १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा रंगशाला निर्माणको ठेक्का लिएको थियो। करिब ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले लामो मेहनत र परिश्रमपछि कर्णालीमा ठूलो खेल पूर्वाधार निर्माण हुन सकेको बताए। उनले यसलाई कर्णालीको खेलकुद भविष्यसँग जोडिएको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।
मुख्यमन्त्री मंगलबहादुर शाहीले ठूलो खेल संरचनाको सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण हुने बताए। त्यसका लागि आवश्यक मापदण्ड र कार्यविधि बनाएर प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास परिषद्ले व्यवस्थित रूपमा सञ्चालन गर्ने उनको भनाइ थियो।











