२०८३ मंसिर १० , बिहीबार

सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपीएल च्याम्पियन



साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १४.३ ओभरमै पूरा गर्‍यो। योसँगै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको छ।

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्से र विनोद भण्डारी नायक बने। उनीहरूबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो। मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १२५ रन बनाए। यो जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर हो। विनोदले २७ बलमा ३ चौकासहित अविजित ३० रन जोडे।

मुन्सेले ४९ बलमै शतक पूरा गरेका थिए। जारी एनपीएलमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन्। यसअघि चितवनका कमिल मिसाराले काठमाडौं गोर्खाजविरुद्ध र पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णाली याक्सविरुद्ध शतक बनाएका थिए। समग्रमा एनपीएल इतिहासमा यो छैटौँ शतक हो।

यसअघि टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो।

लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाए। निरोशन डिकवेल्लाले २८, डार्सी सर्टले २१ र दिलीप नाथले अविजित ३९ रन जोडे। अली शेखले १२ बलमा २४ रन बनाए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले र दोस्रो संस्करणमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो।

तेस्रो संस्करणको उद्घाटन खेल तथा लिग चरणमा पनि लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा शानदार जित निकाल्दै अघिल्ला हारको बदला लिएको छ।

यता लुम्बिनीले लगातार दोस्रो पटक उपाधि जित्दै एनपीएलमा इतिहास रच्ने अवसर गुमाएको छ। यससँगै एनपीएलका तीन संस्करणमा तीन फरक टोली च्याम्पियन बनेका छन्।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।