२०८३ मंसिर १० , बिहीबार

सुर्खेतमा हावाको गुणस्तर मापन सुरु, अनलाइनबाटै प्रदूषणको अवस्था हेर्न सकिने



सुर्खेतमा हावाको गुणस्तर मापन सुरु गरिएको छ। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हावाको गुणस्तर मापन गर्ने उपकरण जडान गरी सञ्चालनमा ल्याइएको हो ।

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन) ले मध्यपश्चिम विश्वविद्यालयलाई हस्तान्तरण गरेको उक्त उपकरणले वीरेन्द्रनगरस्थित विश्वविद्यालय परिसरको हावाको गुणस्तरसम्बन्धी तथ्याङ्क वास्तविक समयमा मापन तथा अभिलेखीकरण गर्न थालेको छ।

विश्वविद्यालय र एनरेनबीच २०८३ मंसिर ३ गते सम्पन्न अन्तरक्रिया तथा नेटवर्क उपकरण हस्तान्तरण कार्यक्रमका अवसरमा उक्त उपकरण हस्तान्तरण गरिएको थियो।

उपकरणले हावामा रहेका पार्टिकुलेट म्याटर (PM1.0, PM2.5 र PM10), कार्बन डाइअक्साइड (CO₂) लगायतका प्रदूषकहरूको मात्रा मापन गर्नेछ। यसबाट हावामा रहेको धुलो तथा अन्य प्रदूषकको अवस्थाबारे नियमित जानकारी प्राप्त गर्न सकिनेछ।

विश्वविद्यालय परिसरको हावाको गुणस्तरसम्बन्धी तथ्याङ्क सर्वसाधारणले समेत अनलाइनमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि यहाँ क्लिक गर्नुहोस वा वेबसाइटमा गएर ‘Mid-West University’ वा ‘NP-Mid-West University-421’ सर्च गरी वास्तविक समयको तथ्याङ्क हेर्न सकिनेछ।

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।