सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा उनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालि रहेका छन्।
कार्यालयका अनुसार सडक डिभिजन चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा मालिका बस्नेत निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त निर्माण सेवाका मुख्य व्यक्ति शान्तबहादुर बस्नेत हुन्।
त्यस्तै, सडक डिभिजन महेन्द्रनगरको सिफारिसमा पञ्चकोटी निर्माण सेवालाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति हरिस सिंह बुढाल रहेका छन्।
यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिकाको सिफारिसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा रहेको आदित्य सप्लायर्सलाई दुई वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ। उक्त सप्लायर्सकी मुख्य व्यक्ति लिला देवी शाह हुन्।
नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका–३५, सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई भने एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति सुरेश पण्डित हुन्।
कालोसूचीमा राखिएसँगै सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।












