२०८३ मंसिर ११ , शुक्रबार

दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली नगर्नुपर्ने कारण पेश गर्न सर्वोच्चको आदेश



आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई आईजीपी पदमा पुनर्बहाली नगर्नुपर्ने कारण भए पेश गर्न सरकार लगायत विपक्षीहरूका नाममा आदेश जारी गरेको हो।

सर्वोच्चले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षको छलफलपछि निर्णय गर्ने जनाएको छ। त्यसका लागि आगामी सोमबार, ७ मंसिरमा दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।

त्यस्तै, कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने तथा एआईजी डा. मनोज शर्मालाई आईजीपीमा बढुवा गर्ने निर्णयको प्रमाणित प्रतिलिपि पेश गर्न सर्वोच्चले आदेश दिएको छ। उक्त निर्णयसँग सम्बन्धित अन्य कागजात भए ती समेत पेश गर्न भनिएको छ।

विषयवस्तु र प्रकृतिका आधारमा रिट निवेदन छिटो टुंगो लगाउनुपर्ने भन्दै सर्वोच्चले यसलाई अग्राधिकारसमेत दिएको छ। अग्राधिकार प्राप्त मुद्दाको सुनुवाइ अन्य मुद्दाभन्दा प्राथमिकतामा राखिन्छ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।