
प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि आयोजक वीरेन्द्रनगर नगरपालिकाले जितेको छ। वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा जुम्लालाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक फाइनल खेलको पाँचौँ मिनेटमै वीरेन्द्रनगरका विक्रम ओलीले गरेको गोल नै खेलको निर्णायक बन्यो। जर्सी नम्बर ७७ का ओलीले सुरुवाती अग्रता दिलाएपछि वीरेन्द्रनगरले उक्त अग्रतालाई अन्तिमसम्म जोगाउँदै ऐतिहासिक पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो।
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। पहिलो हाफमा जुम्लाले बराबरी गोल फर्काउने केही अवसर सिर्जना गरे पनि वीरेन्द्रनगरको सुदृढ रक्षापङ्क्ति तथा गोलरक्षकका कारण सफल हुन सकेन। दोस्रो हाफमा जुम्लाले थप आक्रामक रणनीति अपनाउँदै लगातार खेलाडी परिवर्तन गरे पनि गोल गर्न असफल रह्यो। यता, वीरेन्द्रनगरले रणनीतिक रूपमा खेल नियन्त्रण गर्दै अग्रता कायम राख्यो।
खेल अवधिभर प्रतिस्पर्धा निकै तनावपूर्ण बनेपछि रेफ्रीले केही खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए। वीरेन्द्रनगरका जर्सी नम्बर ११ र ४ का खेलाडीले क्रमशः ४५औँ र ५८औँ मिनेटमा पहेँलो कार्ड पाए भने जुम्लाका जर्सी नम्बर ३ का खेलाडीले ४३औँ मिनेटमा चेतावनीस्वरूप कार्ड सामना गरे।
फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका विक्रम ओली ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
प्रतियोगिता समापनसँगै विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिएको छ। जुम्लाका धर्मेन्द्र कुँवार प्रतियोगिताकै ‘बेस्ट प्लेयर’ घोषित भए भने वीरेन्द्रनगरका सब बुढामगर शाही ‘बेस्ट किपर’ चुनिए। पञ्चपुरीका दिवस विक ‘बेस्ट डिफेन्स’ तथा सिम्ताका तुसार आग्री ‘इमर्जिङ प्लेयर’ घोषित भए।
त्यसैगरी पञ्चपुरीका धनसिंह विकले प्रतियोगिताभर सात गोल गर्दै ‘हाई स्कोरर’को अवार्ड जिते। विजेता टोली वीरेन्द्रनगरका मुख्य प्रशिक्षक गणेश खड्का ‘बेस्ट कोच’ घोषित भएको म्याच कमिसनर रूपचन्द्र बिष्टले जानकारी दिए।










प्रतिक्रिया दिनुहोस्