२०८३ जेठ १९ , मंगलबार

कर्णालीमा लैङ्गिक समावेशीमा आधारित कृषि मूल्य शृङ्खला तालिम सम्पन्न



कर्णाली प्रदेशमा महिलाको आर्थिक सशक्तीकरण तथा कृषि आय अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको लैङ्गिक समावेशीमा आधारित कृषि मूल्य शृङ्खला सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।

नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल “सशक्त महिला, समृद्ध नेपाल (EWPN)” कार्यक्रमअन्तर्गत परिमाण–२ को आर्थिक सशक्तीकरण कार्यक्रममार्फत तालिम सञ्चालन गरिएको हो । कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को पहलमा सेवक नेपालको कार्यान्वयन साझेदारीमा आयोजना गरिएको थियो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रका प्रमुख धनबहादुर कठायत र उच्च मूल्यकृषि बस्तु उत्थानशील कार्यक्रमका प्रमुख बखतबहादुर खड्काले सहजीकरण गरेका थिए । कार्यक्रममा सहक्षेत्र छनोट, मूल्य शृङ्खला छनोटका लागि टुल्सको प्रयोग, मूल्य शृङ्खला नक्साङ्कन, मूल्य शृङ्खला विश्लेषण तथा कार्ययोजना तयारीका विषयमा छलफल गरिएको थियो ।

उक्त तालिममा कृषि तथा पशुजन्य वस्तुको उत्पादनदेखि बजारीकरण र उपभोगसम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउन मूल्य शृङ्खला प्रणाली प्रभावकारी माध्यम हुने उल्लेख गरिएको थियो । कार्यक्रममा फलफूल, तरकारी, बीउ उत्पादन, पशुपन्छी, च्याउ खेती, मौरीपालन तथा माछापालनलगायत उच्च सम्भावना भएका सहक्षेत्र पहिचान गरी स्थानीय तहले योजना तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिने कठायतले बताए ।

कार्यक्रममा बजारको माग, आयवृद्धि, रोजगारी सिर्जना, कृषक सहभागिता, खाद्य सुरक्षा, समावेशीकरण तथा जलवायु अनुकूलनका आधारमा सहक्षेत्र छनोट गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो । यस्तै, मूल्य शृङ्खलामा उत्पादन, प्रशोधन, व्यापार, थोक तथा खुद्रा बजारसम्म देखिएका समस्या पहिचान गरी समाधानमुखी कार्ययोजना तयार गर्न सरोकारवालाले जोड दिएका थिए ।

यस्तै, वित्तीय पहुँच, तालिम तथा प्रविधि, प्राविधिक सहयोग, पूर्वाधार विकास तथा बजार पहुँचलाई मूल्य शृङ्खला विकासका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको थियो । साथै कृषक, सङ्कलक, थोक व्यापारी, खुद्रा व्यापारी तथा उपभोक्ताबीचको सम्बन्ध, बजार प्रवाह, मूल्य अभिवृद्धि तथा बजार मार्जिनबारे समेत छलफल गरिएको थियो । मूल्य शृङ्खला नक्साङ्कनले बजार अवसर पहिचान, समस्या समाधान तथा व्यवसायिक वातावरण सुधारमा सहयोग पुग्ने विश्वास रहेकाे छ ।

कार्यक्रममा शुभकालिका गाउँपालिका कृषि प्राविधिक सहायक निर्मला अधिकारीले सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको दुई दिने तालिम निकै प्रभावकारी भएको बताइन् । ‘हामीले सिकेका सीप र अनुभवलाई अब स्थानीय स्तरमा कृषकसम्म पु¥याएर कृषि क्षेत्रको विकासमा थप काम गर्न सहज हुने अपेक्षा गरेका छौं,’ उनले भनिन् ।

यस्तै, भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रीतम थापाले तालिमले कृषि क्षेत्रको दिगो विकास र व्यावसायीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले कृषि उत्पादनलाई मूल्य शृङ्खलासँग जोडेर बजार विस्तार, उत्पादनको गुणस्तर सुधार तथा कृषकको आम्दानी वृद्धि गर्न कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे । ‘कृषिलाई केवल उत्पादनमा सीमित नराखी मूल्य शृङ्खलासँग जोडेर अघि बढ्न सके कृषकको आर्थिक अवस्था सुधार गर्न ठूलो टेवा पुग्ने उनले बताए ।’

कार्यक्रममा कर्णाली प्रदेशका १० वटा स्थानीय तहका कृषि शाखा प्रमुख, कृषि अधिकृत, प्राविधिक, योजना शाखा प्रमुख, उद्यम शाखा प्रमुख तथा कृषि समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार