२०८३ वैशाख ६ , आइतबार

सिमकोटमा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन



हुम्ला जिल्लाको सिमकोटमा निःशुल्क लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन हुने भएको छ।

लोकसेवा तयारी कक्षा सञ्चालन समिति, सिमकोट हुम्लाको आयोजनामा उक्त कक्षा सञ्चालन गर्न लागिएको हो।

खार्पुनाथ र नाम्खा गाउँपालिका तथा आधार विकास नेपालको आर्थिक सहयोग र सामाजिक विकास कार्यालय हुम्लाको प्राविधिक सहयोगमा कक्षा सञ्चालन गरिन लागेको समितिका संयोजक ईश्वर बहादुर सिंहले बताए ।

सिमकोट सदरमुकाममा सञ्चालन हुने तयारी कक्षामा ३०१ जना विद्यार्थी सहभागी हुनेछन्।

कक्षामा सहभागी हुन सबै विद्यार्थीलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। तयारी कक्षामा सहभागी विद्यार्थीले आफू अध्ययन गर्न चाहेको सेवा समूहको पाठ्यक्रम प्रिन्ट गरी, सादा कापी, डटपेन तथा लोकसेवा तयारीसम्बन्धी पुस्तकसहित उपस्थित हुनुपर्ने जनाइएको छ।

तयारी कक्षा आगामी पुस १३ गते आइतबारदेखि बिहान ७ बजेदेखि सुरु हुने छ। कक्षा श्री मानसरोवर बहुमुखी क्याम्पस, तल्लो बजार सिमकोटमा सञ्चालन हुने सिंहले जानकारी दिए ।

कक्षामा प्रशिक्षकका रूपमा ईश्वर बहादुर सिंहले सबै तहका लागि प्रथम पत्र सामान्य ज्ञान, अर्जुनराज जोशीले ना.सु. र खरिदार द्वितीय पत्र लिखित तथा राजेन्द्र कुमार चन्दले सबै तहका लागि प्रथम पत्र IQ विषय पढाउनेछन्।

समितिले निःशुल्क तयारी कक्षाको सदुपयोग गर्दै लोकसेवा तयारीलाई प्रभावकारी बनाइ लक्ष्य प्राप्तितर्फ अघि बढ्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार