२०८३ वैशाख १० , बिहीबार

निर्वाचन र मानव अधिकारबारे कर्णालीमा जेन्जीसहित सरोकारवालाबीच छलफल



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेन्जी प्रतिनिधि सहित सरोकारवालाबीच ‘निर्वाचन र मानव अधिकार’ विषयमा छलफल गरिएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा बुधबार सम्पन्न अन्तरक्रियामा आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी, मानव अधिकारको अवस्था र युवाको सहभागितामाथि चर्चा गरिएको हो।

कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले नव–युवालाई मतदान प्रक्रियामा सहभागी गराउने उद्देश्यले मतदाता नामावली अद्यावधिकलाई प्रविधिमैत्री बनाइएको जानकारी दिए। जेन्जी आन्दोलनपछि सुर्खेतमा मात्र ७ हजार ३ सय र कर्णाली प्रदेशभर २६ हजार नयाँ मतदाता थपिएको उनले बताए।

कर्णालीमा कुल मतदाता संख्या १० लाख ६ हजार पुगेको र अद्यावधिकपछि पुस १५ गतेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक हुने जानकारी पनि उनले दिए।

मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी मानबहादुर कार्कीले निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र हुनुपर्नेमा जोड दिए। मानव अधिकारका विषयमा साझा मूल्य र मान्यतामा आधारित अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।

जेन्जी अगुवा तथा कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले जेन्जीलाई नकारात्मक रूपमा चित्रण गर्नु गलत भएको बताइन्। भ्रष्टाचार अन्त्य र सुशासनका लागि जेन्जी आन्दोलन भएको उल्लेख गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरूले युवालाई उम्मेदवारका रूपमा प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, युवाको सक्रिय सहभागिता र निष्पक्ष निर्वाचनलाई आगामी निर्वाचनको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका थिए।

नेपाली कांग्रस सुर्खेत जिल्लाका उप–सभापति टोप बहादुर रावतले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिंदै लोकतन्त्र, प्रजातन्त्र र मुलुकको शान्तिका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएको बताए। कांग्रेस निर्वाचनमा जाने निर्णय केन्द्रीय समितिबाट भइसकेको र पार्टीभित्र युवा पुस्ताको उल्लेखनीय सहभागिता रहेको उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा कर्णाली प्रदेश प्रवक्ता हरि अधिकारीले कार्यक्रममा उठेका प्रश्न हरुको जवाफ दिंदै नेपालका अन्य राजनीतिक दलभन्दा युवालाई समेट्ने पार्टी रास्वपा भएको दाबी गरेका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य शुसिल थापाले चुनाव लोकतन्त्रका लागि अपरिहार्य भएको बताए। विधिको शासन आवश्यक रहेको उल्लेख गर्दै एमाले चुनावबाट भाग्न नखोजेको स्पष्ट पारे।

उनले दलको आलोचनाले मात्रै परिवर्तन नआउने भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पसहित सहकार्य र संवाद आवश्यक रहेको बताए।

कार्यक्रममा इन्सेकका संस्थापक तथा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष शुसिल प्याकुरेलले राजनीति नैतिकताको धरातलमा उभिनुपर्ने बताए।

तत्कालीन  प्रधानमन्त्री केपी ओलीमाथि फौजदारी अभियोग लगाउने अन्तरिम  सरकारकी प्रधानमन्त्री शुशिला कार्कीको केटाकेटी पारा रहेको बताए ।

उनले कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले दिएका जवाफ प्रति व्यंग गर्दै अझै नसच्चिय कहिले सच्चिने भनेर प्रश्न गरे ।

सबै दललाई सुध्रिने मौका भएको बताउँदै उनले आगामी दिनमा सुशासन र भ्रष्टाचार बिरुद्दको अभियानमा सबैले हातेमालो गर्दै आगामी निर्वाचनमा सबै राजनीतिक दलले  युवा पुस्तालाई समेट्नु पर्ने समेत बताए ।

कार्यक्रममा युवा पंक्तिलाई आगामी निर्वाचन प्रक्रियामा जोड्न तथा राजनीतिक हस्तक्षप हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार