नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले हालै आह्वान गरेको समानुपातिकतर्फको खुला मनोनयन दर्ता प्रक्रियामा कर्णाली प्रदेशबाट २१ जनाले आवेदन दिएका थिए। तीमध्ये दिनेश बोगटी खस–आर्य कोटाबाट प्रारम्भिक सूचीमा परेका हुन्।
दिनेशका बुबा कालीबहादुर सहकारी स्वयं नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका नेता हुन्। उनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका छन्। यस्तै, दिनेशका काका (बुबाका भाइ) मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालीकोट जिल्ला उपसभापति छन्। परिवारका अधिकांश सदस्य कांग्रेस राजनीतिमा संलग्न रहँदा दिनेशले फरक राजनीतिक धार रोज्दै रास्वपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका छन्।
रास्वपाको समानुपातिक उम्मेदवार बनेपछि दिनेशले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुबा र छोराको तुलना नगर्न आग्रह गरेका छन्। उनले कांग्रेसभित्र आफ्ना बुवामाथि लामो समयदेखि भइरहेको अन्याय र आन्तरिक असहयोगका कारण पार्टी परिवर्तन गर्न बाध्य भएको बताएका छन्।
दिनेशले बुवालाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्ने विषयलाई भ्रमपूर्ण प्रचार र षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। साथै, बुवाको राजनीतिक त्याग र बलिदानको सम्मान नगरेको भन्दै कांग्रेस नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन्।
उनले वंश वा थरभन्दा विवेक, त्याग र कर्तव्यलाई देशका लागि आवश्यक रहेको उल्लेख गर्दै आफ्नै पहिचान बनाउने बाटो रोजेको बताएका छन्।
उनले युवाहरूलाई डर होइन, आँट बोकेर देशको भविष्यका लागि संघर्ष गर्न पनि आह्वान गरेका छन्। बोगटी विगत १० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।











प्रतिक्रिया दिनुहोस्