२०८३ वैशाख ४ , शुक्रबार

न डराएका छौँ, न हराएका जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक बोगटी



जेन-जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले कर्णालीका युवापुस्ता न डराएका र न हराएको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जेन-जी पुस्ता अन्याय सहेर चुप लागेर बस्ने पुस्ता नभएको बताएकी हुन्।

उनले लेखेकी छन्, `कर्णालीका जेन–जी न हराएका छन्, न डराएका छन्। हेक्का रहोस्, हामी मौन बसेर अन्याय सहने पुस्ता होइनौँ।´

दशकौँदेखि कर्णालीमा मौलाउँदै आएको बेथिति, भ्रष्टाचार र अकर्मण्य कर्मचारीतन्त्र अब उखेलिन सुरु भइसकेको उनको दाबी छ।

अब भाषण र आश्वासनभन्दा नतिजा र कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, `अब योजना मात्रै होइन, कार्यान्वयन चाहिन्छ।´

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीतन्त्रलाई इमानदारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ आफ्नो जिम्मेवारी पूरा गर्न उनले आग्रह गरेकी छन्। अन्यथा जनताले हेरेर मात्र नबस्ने चेतावनीसमेत दिएकी छन्।

बोगटीले कर्णालीले अब दया होइन, न्याय र अधिकार माग्ने अवस्थामा पुगेको उल्लेख गरिन्। `कर्णाली अब आश्वासन होइन, परिवर्तन माग्छ। कर्णाली अब विकल्प कुर्दै बस्दैन, आफैँ विकल्प बन्छ,´ उनले भनिन्।

प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार