
कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको हो।
छ खेलबाट कर्णालीले जम्मा दुई अंक मात्र जोड्न सकेको छ। पोखराले भने पाँच खेलमा चार अंक बनाएको छ।
जितका लागि पाएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९ ओभरमै १६७ रनमा समेटियो। मार्क वाटले सर्वाधिक ५९ रन बनाएका भए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
पोखराका रिसी धवनले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रनको विशाल योगफल खडा गर्यो।
यो सिजनको दोस्रो उच्च स्कोर मानिएको छ। यसअघि विराटनगर किङ्ग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो, जुन एनपिएल इतिहासकै उच्च स्कोर हो।
पोखराका लागि एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान दिए। जेशन रोयले ४६, धनञ्जय लक्षनले अविजित २३ तथा कप्तान कुशल भुर्तेलले १८ रन जोडे। कर्णालीका नन्दन यादव र मार्क वाटले प्रत्येकी एक–एक विकेट लिए।










प्रतिक्रिया दिनुहोस्