२०८३ असोज २ , शुक्रबार

उद्घाटनमै च्याम्पियन जनकपुरको हार, काठमाडौं गोर्खाज विजयी



राजधानीमा आजदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ।

पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन मात्रै बनाउन सक्यो। टोलीका ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा ६ चौका र १ छक्कासहित ५३ रन बनाए। मयन यादव ३१ र लाहिरु समाराकुन २२ रनमा रोकिए। तर बाँकी ब्याटरले दोहोरो अंक छुन नसक्दा जनकपुर ठूलो स्कोर बनाउन असफल भयो। काठमाडौंका मिलिन्द कुमारले ३ विकेट लिए भने करण केसी, साहब आलम र सन्तोष यादवले एक–एक विकेट हात पारे।

१३० रनको लक्ष्य पछ्याउँदै काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाएर खेल जित्यो। बेन चार्ल्सवर्थले ४६ रनको महत्वपूर्ण पारी खेले भने आकाश त्रिपाठीले ३९ रन योगदान दिए। मिलिन्द कुमारले १९ रन, जोन सिमसनले १३ रन र आदिल अन्सारी ८* रनमा नटआउट रहे। जनकपुरका बलर किशोर महतो, अनिल साह, ललित राजवंशी, लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिए।

सिंगल राउन्ड रोबिन चरणपछि इलिमिनेटर र क्वालिफायर हुँदै प्रतियोगिताको उपाधि भिडन्त मङ्सिर २७ गते हुने छ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।