२०८३ वैशाख १० , बिहीबार

स्याउ उत्पादनमा डोल्पाको फड्को, एक वर्षमै ४ सय मेट्रिक टन निर्यात

स्याउ निर्यातबाट २ करोड २० लाख आम्दानी, ढुवानीमा सरकारले दिएको छ ५० प्रतिशत अनुदान


पूर्ण सार्की, डोल्पा

डोल्पाबाट आर्थिक वर्ष २०८२/८३ मा ४ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । स्याउ निर्यातबाट २ करोड २० लाख आम्दानी भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले जनाएको छ ।

कार्यालयका अनुसार स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग गरेको थियो । डोल्पाबाट जाजरकोट, सल्यान, दाङ, पोखरा र काठमाडौंलगायतका स्थानमा ४ सय मेट्रिक टन स्याउ पुगेको हो । डोल्पाको स्याउ उत्पादनको उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा उच्च रहेको र जिल्लाको काइके गाउँपालिकामा सिमी उत्पादन मुड्केचुलाभन्दा बढी भएको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ५० हेक्टरमा स्याउ विस्तार, १ हेक्टरमा उच्च घनत्वको फुजी जात रोपाइँ, बजार अभावका कारण खेर जाने स्याउ जिल्लाबाहिर निर्यातमा सहयोग, ओखरमा डोल्पालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

यस्तै, जिल्लामै स्याउ/ओखरका बिरुवा उत्पादन, परम्परागत बगैंचालाई प्रविधियुक्त रूपमा सुधार, प्रांगारिक मल र बर्मी कम्पोस्ट प्रवर्धन, माटो परीक्षण र डिजिटल सोइल म्याप अद्यावधिक, ७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरी रैथाने जात/बालीको बजारीकरण सहयोग, ब्रान्डिङ र प्याकेजिङबाट प्रवर्धनका कार्यक्रम गर्ने जनाएको छ ।

कार्यालयले यस वर्ष स्याउ, ओखर, दलहन/सिमी, भेडा–बाख्रा र आलुमा जोन बनाई काम गर्ने जनाएको छ । विशेषगरी डोल्पामा स्याउ जोन र सिमी जोन गरी दुई जोनमा विभाजन गरी काम भइरहेको डोल्पाका निमित्त राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यन्वयन इकाई कार्यालय, डोल्पाका प्रमुख गोविन्द मल्लले बताए ।
उनका अनुसार कार्यालयले त्रिपुरासुन्दरीका ३ र ४, ठुलीभेरीका ११ र जगदुल्ला गाउँपालिकाका सबै वडामा स्याउ जोन तथा काइकेका ७ र मुड्केचुलाका ६ वडामा सिमी जोन कार्यक्षेत्र बनाई काम भइरहेको जानकारी दिए ।

यस्तै, ठुलीभेरी–१ का कृषक दशरथ रोकायले प्रांगारिक विषादीबारे चेतना अभावका कारण बर्सेनि बिरुवा सुक्ने गरेको बताए । उनले कृषकका खेतबारीमा सम्बन्धित विषयमा दक्ष प्राविधिक नखटिने गुनासो गर्दै वास्तविक कृषक पहिचान गरी सहयोग पु¥याउनुपर्नेमा जोड दिए ।
डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत कमल अधिकारीले वन कार्यालयले पनि प्रत्येक वर्ष हजारौं बिरुवा उत्पादन गर्ने लक्ष्य राखी ओखर वितरणमा सक्रिय रहेको बताएका थिए ।

स्याउ जोनका अध्यक्ष धनबहादुर डाँगीले डोल्पा कृषिमा सम्भावनाको खानी रहेको र यार्सागुम्बा मात्र होइन, फलफूलको हब बनाउन सम्भव रहेको बताए ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले कार्यक्रम कार्यान्वयन इकाईलाई केवल ठुलीभेरी वरिपरि मात्र नभई सबै पालिकामा प्राथमिकतामा पर्नुपर्ने र लक्ष्यअनुसार काम गर्न आग्रह गरे । कार्यालयले यस आर्थिक वर्षमा पुँजीगततर्फ २५ लाख ९३ हजार रुपैयाँ र चालूतर्फ ३ करोड ३४ लाख ६५ हजार रुपैयाँ गरी कुल ३ करोड ६० लाख ५७ हजार रुपैयाँ विभिन्न कार्यक्रममा खर्च हुने जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार