२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतमा जेनजी आन्दोलनमा अराजकता मच्चाउनेलाई कारबाही गर्न राष्ट्रिय युवा संघको माग



सुर्खेतमा जेनजी आन्दोलनका नाममा देशभर देखिएका अराजक गतिविधिप्रति आपत्ति जनाउँदै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

सुर्खेतमा आयोजित बृहत् र्‍यालीपछि संघका युवाहरू जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा देशको संस्कृति, न्याय र लोकतन्त्रमाथि जेनजी आन्दोलनका नाममा भएको आक्रमणको निन्दा गर्दै दोषीहरूलाई कानुनी कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय युवा संघ कर्णाली प्रदेश अध्यक्ष जीवन शाहीले जेनजीका नाममा अराजक समूहले गरेको विध्वंसले देशका शान्तिपूर्ण राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा नकारात्मक असर पारेको बताए।

उनका अनुसार यस्ता गतिविधिले परिवर्तनका आन्दोलनहरूको नैतिक आधार र मूल भावना कमजोर बनाउने खतरा छ।

त्यसैगरी नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा फाँट विभाग इन्चार्ज मानव बमले जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरे।

उनले भने, “जेनजी पुस्ताको चेतना, सहभागिता र परिवर्तनको चाहना प्रशंसनीय छ। उनीहरूले उठाएका सवालहरू समयसापेक्ष र जायज छन्। तर आन्दोलनका नाममा हिंसा, तोडफोड र आक्रमण हुनु अनुचित हो।”

बमले राजनीतिक चेतनासँगै अनुशासन, संयम र कानुनी मर्यादाको पालना अपरिहार्य रहेको बताए।

उनका अनुसार युवा चेतनाको समर्थन सबैले गर्नुपर्छ, तर अराजक गतिविधिको होइन। अपराध गर्ने जो कोही पनि कानुनी दायरामा आउनुपर्छ । उनले भने, “आन्दोलनका नाममा हुने अपराधलाई कुनै पनि किसिमको संरक्षण दिनु हुँदैन।”

र्‍यालीमा सहभागी युवाहरूले ‘अराजकता होइन, उत्तरदायित्व चाहिन्छ’ भन्ने नारासहित सुर्खेत बजार परिक्रमा गरेका थिए।

प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार