२०८३ भदौ ३१ , बुधबार
आईसीसी टी-२०

१२ वर्षपछि टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित, स्कटल्यान्ड सात विकेटले पराजित



आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि सात विकेटको प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियम मा भएको खेलमा स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गर्दै उत्कृष्ट फिनिसिङ गरे। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक बनाए। टी-२० विश्वकपमा लगातार अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडीसमेत बनेका छन्।

यस जितसँगै नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा जित दर्ता गरेको हो। यसअघि नेपालले सन् २०१४ को संस्करणमा अफगानिस्तानलाई पराजित गरेको थियो।

१७१ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल (४३) र आसिफ शेख (३३) ले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाए। त्यसपछि कप्तान रोहित पौडेल १६ रनमा आउट भए पनि ऐरी र गुल्सन झाले संयमित ब्याटिङ गर्दै इनिङ्स सम्हाले। गुल्सन झाले अविजित २४ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले सात विकेट गुमाएर १७० रन बनाएको थियो। उसका लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए भने जर्ज मुन्सेले २७ रन जोडे।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट हात पारे। डेथ ओभरमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम पाँच ओभरमा स्कटल्यान्डलाई दबाबमा राखेका थिए।

समूह चरणबाट बाहिरिइसकेको नेपालले अन्तिम खेल जित्दै प्रतियोगितालाई सुखद रूपमा टुंग्याएको छ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।