२०८३ असोज २ , शुक्रबार

सुर्खेतमा युवा मानवअधिकार रक्षकहरूको दुई दिने अन्तरपुस्ता कार्यशाला सम्पन्न



सुर्खेतमा युवा मानवअधिकार रक्षकहरूको सुरक्षा, सार्वजनिक दृश्यता वृद्धि र प्रभावकारी सञ्चार कौशल विकास लक्षित दुई दिने अन्तरपुस्ता कार्यशाला सम्पन्न भएको छ।

कार्यक्रम युवा मानवअधिकार रक्षक सुर्खेतकी अध्यक्ष पुजा दमाईको अध्यक्षतामा सुरु भएको कार्यशालाको उद्घाटन जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार बडुवालले गरेका थिए।

कार्यक्रममा युवा मानवअधिकार रक्षकबीचको एक्यबद्धता, सरोकारवालासँगको समन्वय तथा सञ्चारका विषयमा विस्तृत छलफल गरिएको थियो।

रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले युवा रक्षकमाथि हुने गलत सूचना, बदनाम अभियान तथा हानिकारक कथनको पहिचान र तिनलाई प्रभावकारी रूपमा सामना गर्ने तरिका बारे सहभागीसँग अनुभव र प्रशिक्षण साझा गरेका थिए ।

त्यसैगरी प्रशिक्षक डा. देबेन्द्र प्रसाद अधिकारीले स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सम्बन्ध विस्तार, संरक्षण संरचना, अवसर तथा अभ्यासहरूबारे मार्गदर्शन गर्दै युवाको काम, योगदान र नेतृत्वलाई सही ढंगले प्रस्तुत गर्न रणनीतिक सञ्चार अत्यावश्यक हुने बताए।

कार्यकारी निर्देशक न्यौपानेले सहि सञ्चार रणनीति सुदृढ भएपछि युवा रक्षकहरू अझ विश्वसनीय, दृढ र प्रभावशाली रूपमा समुदायमा उभिन सक्ने उल्लेख गरे।

कार्यशालाले जिल्लास्तरमा सक्रिय युवा मानवअधिकार रक्षक सञ्जाललाई सुदृढ गर्ने, युवालाई परिचालन गर्ने र सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको संयोजक सन्तोष बि.क.ले बताए ।

ग्रामीण उन्मुख युवा अभियान र युवा मानवअधिकार रक्षक सञ्जाल, हुम्ला तथा सुर्खेतको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख तथा विशिष्ट अतिथीहरूले युवालाई चुनौतीसँगै ठूलो अवसर पनि रहेको उल्लेख गर्दै ´यो कार्यशाला केवल छलफल होइन, परिवर्तनको सुरुवात हो।

युवाको सक्रियताले कर्णालीमा मानवअधिकार अभियानलाई नयाँ उचाइ दिन सक्छ,´ भने। उपप्रमुख बडुवालले पुस्ताबीचको दूरी कम गर्न संवाद र सहकार्य अपरिहार्य रहेकोसमेत बताए।

कार्यक्रममा अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह विशेष अतिथि तथा बिरेन्द्रनगर–१६ का वडा अध्यक्ष डण्डबहादुर बि.क., कार्यपालिका सदस्य सरिता चौधरी, सर्केघाट गाउँपालिका सदस्य यिङ्गी थापा, राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त प्रमुख मानबहादुर कार्की, गैरसहकारी महासङ्घ कर्णालीका अध्यक्ष धनश्याम केसीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।